Online Bichar
बिहिबार, आषाढ २५, २०८३ | Thursday, July 9, 2026

झापा, २५ असार २०८३ । झापाको शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा रहेको साइनो बचत तथा ऋण सहकारी संस्थामा लाखौँको रकम हिनामिना गरेको आरोपमा संस्थाका अध्यक्ष दीपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन् ।

खिलमान राईसहितका करिब आधा दर्जन बचतकर्ताहरूले आफ्‌नो बचत फिर्ता नपाएको भन्दै जाहेरी दिएपछि केही दिनअघि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हिनामिनामा अध्यक्ष लिम्बूसहित अन्य सञ्चालकहरू पनि मुछिएका छन् । उनीहरूको खोजी भइरहेको छ । शिवसताक्षी नगरपालिकाले यस सहकारीका विषयमा छानबिन गरी प्रतिवेदनसहित सिफारिस पठाएपछि प्रहरीले कारबाही अघि बढाएको हो ।

यसैबिच प्रहरीले साइनो बचत तथा ऋण सहकारी संस्थाका अन्य बचतकर्ताहरूलाई पनि निवेदन दिन आव्हान गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक दुर्गाबहादुर भट्टराईले एक सार्वजनिक सूचना जारी गरी साइनो बचत तथा ऋण सहकारी संस्थाबाट पीडित भएको भए यस सहकारीमा विगतदेखि हालसम्म आबद्ध रहेका शेयर धनी तथा बचतकर्ताले सात दिनभित्र बचतकर्ताहरूले प्रयोग गरेको पास बुक, नागरिकताको फोटोकपी छाया कपी, एफडी कार्ड लगायतका कागजातहरू लिई जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क राख्न अनुरोध गरेका छन् ।

 

तपाईको प्रतिक्रिया