काठमाडौं, २५ असार २०८३ । राष्ट्रियसभाको बैठकको समय सारिएको छ । सवा १२ बजेका लागि डाकिएको बैठकका लागि तयारी नपुगेपछि सारिएको संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाले आज सरकारको बजेट सम्बन्धी दुईवटा र अध्यादेश प्रतिस्थापन गर्ने विधेयक चारसहित ६ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।
सरकारले ल्याएका अध्यादेश प्रतिस्थापन विधेयक आजै पारित गरी पठाउनुपर्ने बाध्यताका कारण राष्ट्रियसभाको बैठक सारिएको हो ।
अहिले विधायन व्यवस्थापन समितिमा अध्यादेश प्रतिस्थापन विधेयकहरूको प्रतिवेदन तयार पार्ने काम भइरहेको नेपाली कांग्रेसका सचेतक पदम परियारले जानकारी दिए । प्रतिवेदन तयार भएपछि सभापति कृष्णबहादुर रोकायाले राष्ट्रिसभा बैठकमा पेस गर्नेछन् ।
उक्त बैठकले प्रतिवेदनमा सामान्य छलफल गरेपछि पहिलो बैठक स्थगित हुने र दोस्रो बैठकले प्रतिस्थापन विधेयकहरू पारित गरेर पठाउने तयारी रहेको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्त कोइरालाले जानकारी दिए ।
प्रतिवेदन पहिलो बैठकमा पेस गरेपछि बजेटसम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुनेछन् । त्यसको केही समयमा बस्ने दोस्रो बैठकले सार्वजनिका खरिद् दोस्रो संशोधन विधेयक, सम्पत्ति शुद्धीकरण तेस्रो संशोधन विधेयक, सहकारी ऐन पहिलो संशोधन विधेयक र स्वास्थ्य विज्ञान प्रतिस्ष्ठान सम्बन्धी विधेयकहरू पारित गर्नेछ ।
सरकारले जारी गरेका अध्यादेशहरू संसद्को पहिलो बैठक बसेको वैशाख २८ गतेको ६० दिनभित्र पारित गर्नुपर्ने बाध्यताले एकै दिन ६ विधेयक पारित गर्न लागिएको हो । राष्ट्रियसभाबाट पारित यी विधेयक आजै सभामुखले प्रमाणित गरी राष्ट्रपतिसमक्ष पेस गर्नुपर्नेछ ।






