काठमाडौं, २४ असार २०८३ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा व्यस्त रहनुपर्ने भएपछि प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरी बिहीबारसम्मका लागि स्थगन गरिएको प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीले जानकारी दिए ।
“कानुनमन्त्रीज्यूको विजनेस थियो । राष्ट्रियसभाको समितिमा विधेयकमाथि छलफल भइरहेको छ । त्यो छलफल लम्बियो । त्यहाँ कम समय लाग्छ भनेर बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो । धेरै लामो समय माननीय सदस्यहरूलाई कुराउनुभन्दा भोलिको कार्यसूचीमा राखौँ भनेर बैठक सूचना टाँस गरी स्थगित भएको छ,” उनले भने ।
सरकारले ल्याएको अध्यादेशमध्ये चारवटाको प्रतिस्थापन विधेयक राष्ट्रियसभाको समितिमा छ । त्यसबारे आजै टुंगोमा पुर्याउनुपर्ने भएपछि मन्त्री प्रतिनिधिसभामा आउन ढिला हुने जानकारी गराइन् । “समन्वय कम भएर होइन उता चाँडो हुन्छ भनेर नै कार्यसूचीमा राखिएको थियो । उता लम्बिने भएपछि आज फेरि बैठक नबसेको हो,” अधिकारीले भने ।
आजको बैठकमा कानुनमन्त्री गौतमले प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट महान्याधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२ पेस गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ प्रतिवेदन पेस गर्ने कार्यसूची थियो ।
त्यस्तै, कानुनमन्त्रीले राष्ट्रिय सेवादल विधेयक प्रस्तुत गर्ने, नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।
उता, नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक र पर्यटन विधेयक भने समितिमा पठाइएको छ । उक्त विधेयक समितिमा पठाइएपछि सभामुखले कानुनमन्त्रीको पर्खाइका लागि बैठक स्थगित गरेका थिए ।






