झापा, २२ असार २०८३ । जवरजस्ती करणीको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीले सफाई पाएको मुद्धाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । झापा जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले शिवाकोटी विरुद्धको मुद्दामा दावी नपुग्ने फैसला सुनाएको थियो ।
नेपाल सरकार वादी रहेको शिवाकोटी विरुद्धको सो मुद्दामा निर्दोष ठहर गरेको हो । शिवाकोटी विरुद्ध २०८१ पुस १९ गते जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।
झापा जिल्ला अदालतले थुनछेक प्रयोजनका लागि यस अघि गरेको आदेशमा थुनामा पठाउने आदेश गरेको थियो । शिवाकोटीले सो आदेश विरुद्ध गरेको अपिलमा उच्च अदालत इलाम इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो । गत वर्षको असार २२ गते झापा जिल्ला अदालतले अन्तिम फैसला सुनाउँदै सफाई दिएको हो ।
झापा जिल्ला अदालतले सुनाएको फैसलाको पूर्णपाठ यस्तो छ ।
२४. नियम बमोजिम साप्ताहिक तथा आजको दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल संलग्न कागजात अध्ययन गरी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहायक जिल्ला न्यायाधिवक्ता श्री सन्दिप टेलरले प्रतिवादीलाई कसूर ठहर गरी अभियोग दावी वमोजिम सजाय हुनुपर्छ भनी गर्नुभएको वहस तथा प्रतिवादीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ताहरु श्री टंकप्रसाद उप्रेती र श्री गजेन्द्रप्रसाद आचार्य तथा अधिवक्ताहरु श्री वालकुमार कटुवाल, श्री टंकप्रसाद दंगाल र श्री कविता वास्तोलाले पीडित भनिएकी १५ वर्ष नाघेकी परिवर्तित सांकेतिक नाम “२१–अनारमनी–०८१–०८२“ लाई निजको हजुरआमा तथा ठुलीआमाले अनुशासनमा राखेर नियन्त्रण गर्न नसकेपछि खान लाउन दिएर पढाउने समेत भनी सानै उमेरदेखि प्रतिवादीको घरमा राखेर निजले नै जन्म दर्ता गरी दिएर स्कुलको शिक्षा पुरा गरी कलेज पढाएको हो। भलाईको जमाना छैन।गाईबस्तुको गोठालो लाग्न सकिन्छ तर मानिसको सधै पछि लागेर गोठालो गर्न सकिदैन।खान लाउन पाएर उमेर बढेसँगै भारतीय डियर आकाश भन्ने व्यक्तिसँग लुकिलुकी भेट गरी प्रेम सम्बन्ध राखेर कोठामा राखेको सुन र रु. १०००।– चोरी गरेको थाहा पाएर सुन र पानी बाँकी भएको रु. ७००।– फिर्ता मागेर चोरी गर्ने व्यक्तिसँग बोल्न छाडेपछि विद्यालयकै पोशाकमा भारतीय वोर्डरमा प्रेमी भेट्न जाँदा इन्डिया जान नपाएपछि पुनः नेपाल फर्कन नपरोस् भनी शरण दिएको व्यक्तिलाई नै मरण पार्ने गरी जुन थालमा खाएको छ त्यसैलाई छेद गर्ने गरी जवरजस्ती करणी गरे भनी झुठ्ठा कुरा उल्लेख गरी जाहेरी दिएको हो।पीडित भनिएकी व्यक्ति सकुशल छिन्, कुनै ट्रमा छैन।अशक्त र दिर्घ रोगी प्रतिवादी कसैको सहारा नभई उठ्न बस्न हिड्न समेत सक्दैनन्, जवरजस्ती करणी गरेको होइन।अशक्त रोगी र वृद्व अवस्थाका प्रतिवादीलाई झुठा आरोप लगाएकोले सफाई पाउनु पर्छ भनी गर्नु भएको वहस सुनियो।
२५. प्रस्तुत मुद्दामा प्रतिवादीले अभियोग दावी वमोजिम जवरजस्ती करणीको कसूर गरेको हो होइन? प्रतिवादीलाई कसूर ठहर गरी सजाय हुने हो होइन भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखियो।
२६. निर्णयतर्फ विचार गर्दा, प्रतिवादी ध्रुवकुमार सिवाकोटीलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा (३) को देहाय (छ) र (ज) एंवम मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(१) र (२) बमोजिमको कसूर अपराधमा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ७२ को उपदफा (३) को देहाय (छ) ले निर्देशन गरेबमोजिम मुलुकी अपराध संहिता, २०७४ को दफा २१९(३) (ग) बमोजिम कैद सजाय गरी ऐनको उपदफा (३क) को देहाय (ख) बमोजिम जरिवानाको सजाय गरी उक्त रकम पीडित राहत कोषमा जम्मा गरी पाउन एंवम निज प्रतिवादीलाई बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६७(२) बमोजिम नैतिक पतन देखिने फौजदारी कसुर गरेको ठहर हुन साथै मुलुकी अपराध संहिता, २०७४ को दफा दफा २२८ बमोजिम पीडितलाई मनासिव क्षतिपूर्ति दिलाई भराई अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति शुल्क निर्धारण गरी उक्त रकम निज प्रतिवादीबाट क्षतिपूर्ति कोषमा जम्मा गरी पाऊँ भन्ने वादी नेपाल सरकारको अभियोग दावी रहेको देखिन्छ।
२७. प्रस्तुत मुद्दामा पीडित भनिएको १५ वर्ष नाघेको व्यक्तिलाई सानै उमेरदेखि निजको संरक्षक अभिभावक हजुरआमाले र ठुलीआमाले आफ्ना बालक सन्तानलाई हेरचाह गर्ने, स्याहार सम्भार, पालन पोषण, शिक्षा दिक्षा, खेलकुद मनोरञ्जनन जस्ता आवश्यक व्यवस्था गर्नुपर्नेमा पीडित भनिएको व्यक्ति चञ्चले भएकोले आफ्ना अभिभावकले निगरानीमा नियन्त्रणमा राख्न नसकेको र अभिभावकसँग बस्न नचाहेपछि बालबालिका संरक्षण गर्ने निकायमा जिम्मा दिनु पर्नेमा प्रतिवादीलाई संरक्षण गर्न दिएपछि प्रतिवादीले जन्म दर्ता गराएर आफ्नो घरमा राखेर ७/८ वर्षदेखि खान लाउन दिएर शिक्षा दिलाउन स्कुलमा भर्ना गरी स्कुलको शिक्षा पुरा गरी उच्च शिक्षाको लागि कलेजमा पढ्न पठाएको देखिन्छ।प्रतिवादीलाई जवरजस्ती करणीको आरोप लगाएकोमा प्रतिवादी मौकामा र अदालतमा समेत इन्कार रहेको देखिन्छ। आफूलाई खान लाउन दिएर उच्च शिक्षा समेत प्रदान गरेका सुगर, प्रेसर, ढाड र आँखाको शल्यक्रिया गरेर नियमित औषधि सेवन गरेर कोठामा बाल्टीमै शौच गर्ने दिर्घरोगी वर्ष ६८ का प्रतिवादीले पीडितलाई पटक पटक गरी अन्तिमपटक मिति २०८१।८।१५ गते करणी गरेको भए घरमा रहेका परिवारका सदस्यहरुलाई सुनाउनु पर्नेमा परिवारका सदस्य कसैलाई सुनाएको देखिदैन। आफूउपर जवरजस्ती करणी भएको भए पीडिता भनिएको व्यक्ति आफ्नो हजुरआमाको घरमा गएकोमा हजुरआमालाई पनि मलाई जवरजस्ती करणी हुन्छ भनी सुनाएको देखिदैन।आफ्ना सहपाठी साथीहरुलाई आफूलाई जवरजस्ती करणी भयो भनी सुनाएको पनि देखिदैन।आफूलाई पढाउने शिक्षक गुरुआमाहरुलाई पनि आफूलाई जवरजस्ती करणी भएको छ भनी सुनाएको देखिदैन।आफूखुसी पढ्न हिडेको व्यक्ति मिति २०८१।८।२४ गते भागेर भारत जान लाग्दा काँकरभिट्टामा बोर्डर पार गर्न लाग्दा आफन्त नेपाल भन्ने संस्थाले फेला पारेकोले वोर्डर कट्न नपाएको देखिन्छ।यी पीडित भनिएको व्यक्ति स्कुल कलेजका शिक्षकहरुसंग विदा नलिई घरमा नसोधी स्कुल ड्रेसमा विदेश भारतमा पुगेर हराएको भए पीडितको हजुरआमा र ठुलीआमाले मेरो नातिनीरछोरी खै भनी प्रतिवादी उपर नातिनीर छोरी वेपत्ता पारेको भनी कि लाश देखाऊ कि सास देखाऊ भनी झन ठुलो मुद्दा प्रतिवादीले खेप्नु पर्ने देखिन्थ्यो।पीडित भनिएको व्यक्ति भारत नछिर्दै फेला परी सकुशल रहेको देखिन्छ।वजन ३९ किलो भएकी १५ वर्ष नाघेकी टिनएजमा रहेकी पीडित भनिएको व्यक्ति आफ्नो भारतीय फेसवुक फ्रेण्ड प्रेमी डियर आकाशलाई भेट्न भारत गएको भन्ने बकपत्र समेतबाट देखिन्छ।जाहेरवाला, पीडित, घटना विवरणका व्यक्तिहरुले जवरजस्ती करणी भएको हो भनेपनि कलेजको वार्डेन गिता प्रसाई अदालतमा उपस्थित भई पीडित भनिएकी व्यक्ति बिद्यालयको अध्ययन सकेर ल्याव टेक्निसियनको उच्च शिक्षा पढ्दै थिइन।उनलाई ध्रुवकुमार शिवाकोटीले सानैदेखि पालेर राखेको हो।इन्स्टिच्यूटमा अध्ययन गर्दा विद्यार्थीहरुलाई मोवाइल वोक्न अनुमति छैन।तर उनी मोवाइल लुकाएर विद्यालयमा फोन ल्याउने गर्थिन् ।जति वेला खाना खान जाँदा उनी हिन्दीमा वोल्थिन् ।म वार्डनको नाताले कोसंग वोलेको हो भनेर सोध्दा मेरो इन्डियामा एउटा केटासंग प्रेम छ।मेरा वुवा आमालाई नभन्दिनु भनेकी थिइन् ।म उनीसंग विवाह गर्छु भनेकी थिइन् ।उनले हात जोड्दै यो कुरा बुवा ध्रुव शिवाकोटी, आमा विद्या शिवाकोटीलाई नभनिदिनु भनेर भनिन् ।उनको स्वभाव परिवर्तन भएको देखिएन।हाँसी खुसी थिइन् । उनलाई प्रतिवादीका परिवारले अति नै माया गरेर राखेको हो।यो नानीको भनाई होइन।यो वच्चा अरुले पढाएर सिकाएर दुश्मनको हातमा परेको हो भनी वकपत्र गरेको देखिन्छ।१०/१५ जना व्यक्तिहरुले नानीको कुनै संरक्षक तथा अभिभावक छैन भनी अनुरोध गरेकोले मैले ७र८ वर्षदेखि अभिभावकको भूमिका दिई शिक्षादिक्षा गराएको हो।म उपर जवरजस्ती करणी गरेको भनी दिएको जाहेरी झुठ्ठा हो।म विरामी भएकोले ५ वर्षदेखि आफ्नो पत्नी समेतसंग शारीरिक सम्पर्क भएको छैन।अरुको कुरा सुनी जाहेरी दिएका हुन् ।म अरुको सहारा लिएर मात्र हिड्न डुल्न सक्छु।म अरुको सहारा विना आफूखुसी हिड्न समेत सक्दिनँ ।म ढाडको अपरेशन गरेर बसेको छु।पीडित भनिएको व्यक्तिले कोठामा रहेको रु। १०००।– र सुन चोरी गरेकोमा सुन र खर्च गरेर बाँकी रहेको नगद ७००।– समेत फिर्ता गराएपछि नवोलेको हुँ।२५ वर्षदेखि सुगर प्रेसरको विरामी छु।इन्सुलिन लगाएर औषधि खाएर बाचेको छु।म उपर झुठ्ठा आरोप लगाएको हो भनी कसूरमा इन्कार रही वयान गरेको देखिन्छ।
२८. पीडितको स्वास्थ्य परीक्षण हेर्दा, नर्मल भनी उल्लेख भएको देखिन्छ। History and examination does not exactly match उमेर १६/१७ वर्षको भनी उल्लेख भएको देखिन्छ।डियर आकाश भन्ने प्रेमीलाई सम्वोधन गरी चिठी समेत पीडितले पठाएको र आफू भारतको किशनगञ्ज जान हिडेकी हुँ भनी पीडितको वकपत्रको सवाल जवाफ ३२ मा उल्लेख गरेको देखिन्छ।विशेषज्ञ डा. मनोजकुमार शाह अदालतमा उपस्थित भई सवाल जवाफ १३ मा पीडितको स्वास्थ्य परीक्षण गर्दा देखिएको पुरानो चोट करणीकै हो भनी सोध्दा एकिन साथ भन्न सकिदैन।हस्तमैथुन गर्दा, योनीमा वाह्य वस्तु प्रवेश गराउँदा, व्यायाम गर्दा, गाह्रो काम गर्दा, साइकल चढ्दा, गेम खेल्दा लागेको चोटबाट पनि झिल्ली च्यातिन सक्छ भनी वकपत्र गरेको देखिन्छ।उमेरभन्दा वढी यौनाङ्ग विकास भएको भन्ने विशेषज्ञ डाक्टरले वकपत्र गरेको देखिन्छ।खानपिन लगायतको आहारा पर्याप्त भएको अवस्थामा र हर्मोनको वृद्विको कारण पनि उमेर भन्दा अगाबै कुनै कुनै व्यक्तिको यौनाङ्गको विकास हुने भन्ने देखिन्छ। प्रस्तुत मुद्दा दर्ता भएपछि यस अदालतबाट थुनछेक हुँदा प्रतिवादीलाई थुना राखेर मुद्दाको पुर्पक्ष गर्नु भनी थुनछेक आदेश भएकोमा उक्त आदेश सम्मानित उच्च अदालत विराटनगर इलाम इजलासबाट परिक्षण हुँदा यस अदालतको थुनामा राखी पुर्पक्ष गर्नु भनी भएको आदेश वदर भई धरौटी तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्नु भनी आदेश भए अनुसार प्रतिवादी धरौटी तारेखमा रहेको समेत देखिन्छ। पीडितले अदालतमा वकपत्र गर्दा प्रतिवादीले पूजा गरेर मेरो खुट्टा ढोग्नु हुन्थ्यो।अहिलेसम्म म आफन्त नेपालको संरक्षणमा छु।बकपत्रको सवाल जवाफ ३६ मा डियर आकाश मेरो फेसवुक फ्रेण्ड हो।ऊ इण्डियन हो।तीन महिना जति भयो बोल्न थालेको मलाई ढाटेर वोर्डर क्रस गर्नु थियो।त्यसैले मैले मिति २०८१।८।२४ गते काँकरभिट्टामा आफन्त नेपालका प्रतिनिधिसंग शुरुमा ढाटेर किशनगञ्ज हिडेकी हुँ भनेर भनेकी थिएँ भन्ने समेत व्यहोराको पीडित सांकेतिक नाम “२१–अनारमनी–०८१–०८२“ ले जाहेरवाला सांकेतिक नाम “२१क–अनारमनी–०८१–०८२“ को रोहवरमा गरेको वकपत्र गरेको देखिन्छ। पीडित भनिएको व्यक्तिको शरीर सकुशल रहेको देखिन्छ, कुनै घाँउ चोट निलडाम देखिदैन।मानसिक अवस्था पनि सामान्य देखिन्छ।६८ वर्षका दिर्घरोगी पीडित भनिएको व्यक्तिले १५ वर्ष नाघेको पीडितलाई जवरजस्ती करणी गर्न आएको भए हात खुट्टाले हिर्काउदा दिर्घरोगी वृद्ध व्यक्ति प्रतिवादीलाई नै चोट पुग्न गै थला पर्नु पर्ने हो। प्रतिवादीले जवरजस्ती करणी गर्न आएको भए घरमा हल्ला गरेर रोई कराई गरेर सोही समयमा प्रतिवादीलाई पक्राउ गर्न सकेको पनि देखिदैन।यी पीडित भनिएको व्यक्ति अन्य २ जना महिलाहरु शान्ति हस्दा र मञ्जली हस्दासँग तल्लो तलामा बस्ने सुत्ने गरेकोमा सँगै तल्लो तलामा सुत्ने मञ्जली हस्दा र बसन्ती हस्दालाई समेत प्रतिवादीले करणी गरे भनी सुनाएको पनि देखिदैन।प्रतिवादी ध्रुवकुमार शिवाकोटी अगाडिदेखि निकै धेरै विरामी पर्नु भएको हो।वहाँको प्रेसर, सुगर, नशाको समस्या आदि रोगहरु छन।वहाँको ढाडको शल्यक्रिया भएको थियो।शल्यक्रियापश्चात् वहाँलाई उठाउन सुताउनको लागि सहारा चाहिन्थ्यो।वहाँ कसैको सहाराविना उठन हिडडुल गर्न, ट्वाइलेट जान सम्भव थिएन।मैले सुने अनुसार वहाँको अवस्था हाल पनि सुधार भएको छैन।प्रतिवादीलाई जवरजस्ती करणीको झुठ्ठा मुद्दामा फसाउन खोजिएको मैले बुझेको छु।प्रतिवादी यस्तो खालको कुनै पनि नैतिक पतन हुने कार्यमा संलग्न हुन नसक्ने खालका व्यक्ति हुन् ।अहिले अप्रेसन गरेर विरामी भएको अवस्थामा यस्तो काम गर्नु भएको हो भन्ने कुरामा पटक्कै विश्वास लाग्दैन भन्ने समेत व्यहोराको प्रतिवादीका साक्षी नारायणप्रसाद चिमरियाले वकपत्र गरेको देखिन्छ।पीडित भनिएको व्यक्तिको हजुरआमा साङ्गेतिक नाम २१ (क) अनारमनी ०८१।०८२ ले अदालतमा वकपत्र गर्दा सवाल जवाफ ९ मा घटना १५ गते भएको रहेछ २४ गते पीडितसँग भेट भयो।अघिल्लो दिन आएर भोलिपल्ट गई हालिन् भनी वकपत्र गरेको देखिन्छ। हजुरआमाको घरमा आउँदा आफूलाई जवरजस्ती करणी भयो भन्न सकेको पनि देखिदैन।सवाल जवाफ १२ मा परिवन्ध परी उजुरी दिएकी हुँ भनी वकपत्र गरेको देखिन्छ।प्रतिवादीको घरमा पटक पटक २ पटक गए भनी वकपत्र गरेको देखिन्छ।हजुरआमा नातिनी भेट्न प्रतिवादीको घरमा गएको अवस्थामा समेत आफूलाई जवरजस्ती करणी हुन्छ भनी हजुरआमालाई सुनाएको देखिदैन।सवाल जवाफ २३ मा प्रतिवादीको घरबाट निकाल्ने प्रयत्न गर्नु भएन भनी सोधिएको प्रश्नमा एसइई दिएर आउछु भनेकी थिई मैले निकाल्ने प्रयत्न गरिनँ भनी भनेकोमा एसइई सकेर कलेज पढ्दा पनि खुशीसाथ प्रतिवादीको घरमा बसेको देखिन्छ।ठूलीआमासँग पनि नियमित फोन हुँदा समेत आफूलाई जवरजस्ती करणी भयो भन्न सकेको देखिदैन।पीडित भनिएको व्यक्ति उमेर बढेसंगै डियर आकाशको प्रेममा परेर कलेज ड्रेसमा पढ्न जाने भनी कलेजमा पढ्न नगई अब प्रतिवादीको घरमा नफर्किने गरी प्रेमी डियर आकाशसँग जान भनी भारतको वोर्डरमा फेला परेको देखिन्छ।पीडित भनिएको व्यक्तिले नेपालमा रहँदा प्रतिबादीबाट मलाई जवरजस्ती करणी भयो भनी कसैलाई नभनेको अवस्थामा घरबाट नफर्कने गरी भागेर हिड्ने व्यक्तिले जबरजस्ती करणी गरे भनी भनेको कुरा शंकारहित तवरबाट प्रमाणमा ग्रहण गर्न मिल्ने देखिएन।डियर आकाश भन्ने व्यक्ति आफ्नो प्रेमी भएको कुरा १५ वर्ष नाघेको पीडित भनिएको व्यक्तिले स्विकार गरेकी छन्।जवरजस्ती करणी भएको देख्ने प्रत्यक्षदर्शी साक्षी कोही नभएको, जवरजस्ती करणी भएको भए एउटै घरमा बस्ने परिवारका अन्य सदस्य र आफूसँग वस्ने अन्य व्यक्तिलाई समेत सुनाउनु पर्नेमा सुनाएको देखिदैन।स्कुल कलेजको ड्रेसमा पढ्न भनी हिडेकी पीडित भनिएको व्यक्ति पढ्न नगई कसैलाई नभनी बिदा नमागी भारतीय नाकामा फेला परेको समेतवाट निजको व्यवहार समेत शंकास्पद देखिन्छ।पीडित भनिएको व्यक्ति शारीरिक र मानसिक रुपमा स्वास्थ्य देखिन्छिन् ।पीडित भनिएको व्यक्तिले आफूसंग मोवाइल भएकोमा अभिभावकहरुसंग नियमित कुरा हुने गरेको अबस्थामा आफूलाई करणी भएको भनेर कसैलाई सुनाएको समेत नदेखिंदा स्वतन्त्र प्रमाणबाट कसूर पुष्टि नभई पीडितको वयान खण्डित भएको देखिन्छ।पीडित भनिएको व्यक्तिको हजुरआमाले आफ्नो वकपत्रको सवाल जवाफ १२ मा परिवन्धमा परी जाहेरी दिएको हुँ भनी वकपत्र गरेको देखिन्छ।स्वतन्त्र प्रमाणको अभावमा केवल जाहेरी दरखास्त र पीडित भनिएको व्यक्तिको कथनका आधारमा मात्र प्रतिवादी उपरको कसूर प्रमाणित हुन सक्ने देखिएन। जवरजस्ती करणीको कसूर पीडितको वकपत्र, निजको स्वास्थ्य जाँच प्रतिवेदन, विशेषज्ञ डाक्टरको वकपत्र लगायतका मिसिलबाट देखिएका अन्य प्रमाणहरुबाट समर्थित हुनु अपरिहार्य हुन्छ।कुनै पनि वारदात प्रमाणबाट स्थापित हुने हो र अन्य स्वतन्त्र प्रमाणको अभावमा केवल व्यक्तिको कथनबाट मात्र वारदात स्थापित हुन सक्दैन।झुठ्ठा आरोप लगाउँदा अभियुक्तको सम्मान र मर्यादामा आँच पुर्याउछ।प्रत्यक्षदर्शी साक्षीको अभाव, प्रतिवादीको इन्कारी वयान, विशेषज्ञको वकपत्र समेतबाट कसूर स्थापित भएको नदेखिँदा प्रतिवादीलाई अभियोग दावी वमोजिम सजाय हुनुपर्छ भन्ने विद्वान सरकारी पक्षको वहस जिकिरसंग सहमत हुन सकिएन।
२९. अतः पीडित भनिएको व्यक्तिले घरमा स्कुल कलेजमा साथीहरु, शिक्षक, प्राध्यापक समेतसँग प्रतिवादीले करणी गर्छन् भनी कसैलाई पनि सुनाएको देखिदैन।पीडित भनिएको व्यक्तिले आफ्ना ठूलीआमा र हजुरआमासँग भेट हुँदा र फोनमा गफ हुँदा समेत आफूलाई जवरजस्ती करणी भयो भनेको देखिदैन। प्रतिवादी मौकामा र अदालतमा समेत इन्कार रहेको देखिन्छ। प्रतिवादी र निजका साक्षीहरुले करणी भएको होइन, झुठा मुद्दामा फसाउन झुटा मुद्दा दिएको हो भनी वयान, बकपत्र गरी दिएको देखिन्छ। अपराध भएको देख्ने प्रत्यक्षदर्शी साक्षी कोहि नभएको अवस्थामा शंकाको सुविधा अभियुक्तले पाउने देखिन्छ। पीडितको वकपत्रलाई शंकारहित रुपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना विवरण कागज, प्रकृति मुचुल्का लगायतका स्वतन्त्र प्रमाणहरुबाट कसूर पुष्टि हुन नसकेको देखिँदा पीडित भनिएको व्यक्ति उमेर बढेसगै प्रेमी डियर आकाशसँग भाग्न आफूलाई सानो उमेरदेखि जन्म दर्ता गराएर स्कुलको शिक्षा र कलेज समेतको शिक्षा दिएर पालन पोषण गर्ने व्यक्तिको घर नेपाल नफर्किने गरी हिड्दा भारतको बोर्डरमा बाटो छेकेर बसेका व्यक्तिहरुको भनाईमा दिएको जाहेरीको आधारमा दायर भएको अभियोग पत्र स्वतन्त्र प्रमाणबाट पुष्टि नभएकोले नेपाल सरकारको अभियोग दावी नपुग्ने भै प्रतिवादी ध्रुवकुमार शिवाकोटीले सफाई पाउने ठहर्छ। अरुमा तपशिल वमोजिम गर्नू।






