काठमाडौं, २२ असार २०८३ । होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीलाई बैंक खाता बुझाउन सरकारले दिएको समयसीमा सकिएको छ ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सुकुमवासीलाई दिएको बैंक खाता बुझाउने समय सकिएको हो ।
‘यसअघि भएको निर्णयअनुसार आजसम्म खाता विवरणसहित निवेदन दिने भनिएको थियो । त्यही अनुसार आजपनि खाता विवरण संकलनको काम आज पनि भयो,’ बागमती सभ्यताका सूचना अधिकारी टोप बहादुर बानियाँले भने, ‘अब खाता विवरण दिनेको हकमा चाहिँ २४ गतेभित्र सबै पैसा दिइसक्ने भनिएको छ । अब थप विकल्पमा छलफल भएर केही भयो भने चाहिँ भन्न सकिन्न ।’
बानियाँका अनुसार, खाता विवरण नबुझाउनेको हकमा भने के गर्ने भन्ने निर्णय भइसकेको छैन । ‘यसबारे अब थप छलफल भएर केही निर्णय आउला,’ उनले थपे ।
सुरुवातमा सुकुमवासीले प्रभु बैंकमा खाता खोल्नुपर्ने भन्दै सरकारले कर्मचारीसमेत पठाएको थियो । तर, उनीहरुले त्यसमा खाता खोल्न नमानेपछि जुन खाता दिएपनि हुने भन्ने निर्णयमा सरकार पुगेको थियो ।
आफूसँग भएको खाता विवरण दिए त्यही खातामा पैसा पठाउने निर्णय भयो । सोही अनुसार सरकारले आजसम्मको समय तोकेको थियो ।
यसरी सुकुमवासीको खातामा पैसा पठाएपछि उनीहरूलाई अबबाट आफ्नो अल्पकालीन व्यवस्थापन आफैँ गर्न सरकारले भनेको छ ।
यसको लागि तत्काल २५ हजार रुपैयाँ दिने र त्यसपछि प्रतिमहिना १५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय सरकारको छ ।
‘यसअघिकै निर्णयअनुसार त भोलिबाट खाना पनि सुकुमवासीलाई अब आफैँ व्यवस्थापन गर्न भनेका छौँ । तर, अब सबैले खाता नम्बर नदिएको र कोही जान इन्कार गरेको अवस्थामा के गर्ने भन्ने कुरा आएको छैन । अब माथिबाट छलफल भएर केही निर्णय आउला,’ सूचना अधिकारी बानियाँले भने ।






