काठमाडौं, १९ असार २०८३ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै कर्मचारीका लागि नयाँ आचारसंहिता लागु गरेको छ । मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरूका लागि आचारसंहिता, २०८३ जारी गर्दै कर्मचारीको आचरण, सेवा प्रवाह, सामाजिक सञ्जालको प्रयोग, एआईको प्रयोगदेखि अस्पतालमा बिरामीसँग गर्ने व्यवहारसम्मका विषयमा मापदण्ड तय गरिएको छ ।
मन्त्रीस्तरीय निर्णयबाट असार १० गते स्वीकृत भई तत्काल कार्यान्वयनमा आएको आचारसंहिताले मन्त्रालय, विभाग, कार्यालय तथा मातहतका निकायमा कार्यरत निजामती, स्वास्थ्य सेवा, करार, काज तथा मनोनीत सबै कर्मचारीलाई समेटेको छ ।
नयाँ व्यवस्थाअनुसार कार्यालय समयमा फेसबुक, एक्स, टिकटक, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न पाइने छैन । सरकारी निर्णय वा नीतिको गलत अर्थ लाग्ने गरी अभिव्यक्ति दिन, सरकारी अधिकारीको मानमर्दन हुने टिप्पणी गर्न वा राजनीतिक पूर्वाग्रह झल्किने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गर्नसमेत रोक लगाइएको छ ।
सरकारी कामकाजमा आधिकारिक इमेल मात्र प्रयोग गर्नुपर्ने र व्यक्तिगत गुनासा सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा सार्वजनिक नगरी सम्बन्धित अधिकारीसमक्ष राख्नुपर्ने उल्लेख छ ।
आर्थिक अनुशासनमा पनि मन्त्रालयले कडाइ गरेको छ । सेवाग्राही, निर्माण व्यवसायी वा सेवा प्रदायकबाट होटेल, खाजा, सवारीसाधन वा अन्य सुविधा लिन नपाइने, व्यक्तिगत लाभका लागि सेवाग्राहीलाई कार्यालयबाहिर भेट्न नहुने तथा खरिद प्रक्रियामा आफन्त वा स्वार्थ जोडिएका फर्मलाई प्राथमिकता दिन नपाइने व्यवस्था गरिएको छ । कार्यालय परिसरमा मदिरा सेवन र जुवातास खेल्नसमेत पूर्ण प्रतिबन्ध लगाइएको छ ।
निर्णय गर्दा कानुन, तथ्य र वस्तुनिष्ठ आधारलाई प्राथमिकता दिनुपर्ने, सरकारी गोप्य सूचना तथा आधिकारिक पासवर्ड र छाप सुरक्षित राख्नुपर्ने, कार्यालय समयमा परिचयपत्र र तोकिएको पोशाक अनिवार्य लगाउनुपर्ने तथा कार्यालयबाहिर जाँदा स्वीकृति लिनुपर्ने व्यवस्था पनि आचारसंहितामा समेटिएको छ ।
अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीका लागि भने थप विशेष व्यवस्था गरिएको छ । बिरामी र सेवाग्राहीप्रति शिष्ट, सम्मानजनक र सहानुभूतिपूर्ण व्यवहार गर्नुपर्ने, जात, धर्म, लिंग वा आर्थिक अवस्थाका आधारमा विभेद गर्न नपाइने तथा आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई उपचारमा पहिलो प्राथमिकता दिनुपर्ने उल्लेख छ ।
बिरामीलाई अनावश्यक रूपमा पर्खाउने वा विभिन्न कक्षमा भौतारिन बाध्य पार्न नपाइने, उपचारको बदलामा कुनै पनि प्रकारको घुस, कमिसन वा उपहार लिनरदिन पूर्ण रूपमा निषेध गरिएको छ । विपद्, महामारी तथा आकस्मिक अवस्थामा उच्च सेवाभावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने दायित्व पनि स्वास्थ्यकर्मीलाई तोकिएको छ ।
आचारसंहिताले कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा भातृ संगठनको पक्षरविपक्षमा अभिव्यक्ति दिन, सदस्यता लिन वा सरुवा, बढुवा, तालिम तथा पुरस्कारका लागि राजनीतिक पहुँच वा भनसुन प्रयोग गर्नसमेत रोक लगाएको छ ।
यद्यपि, कानुनबमोजिम अध्ययन–अनुसन्धान, अध्यापन, विशेषज्ञ परामर्श, साहित्य, कला, विज्ञान, प्रविधि तथा खेलकुदजस्ता सिर्जनात्मक गतिविधिमा सहभागी हुन भने छुट दिइएको छ ।
मन्त्रालयका अनुसार आचारसंहिता कार्यान्वयनको अनुगमन सचिव, विभागीय प्रमुख तथा कार्यालय प्रमुखले तहगत रूपमा गर्नेछन् । आचारसंहिता पालना गरेको आधार कर्मचारीको कार्यसम्पादन मूल्यांकन, अवसरको वितरण तथा पुरस्कारसँग जोडिनेछ भने उल्लंघन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार विभागीय कारबाही गरिनेछ ।






