Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, १८ असार २०८३ । सरकारले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईज०को सरुवा गरेको छ । बिहीबार (असार १८) सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनीहरूको सरुवाको निर्णय गरिएको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्त गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।

यस्तै, सरकारले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । शिक्षा दशौँ संशोधन नियमावली, २०८३ स्वीकृत, गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावल (कैलाली) लाई नियुक्त गर्ने निर्णय पनि गरिएको छ ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा देवराज ढुंगाना (मोरङ) लाई नियुक्त गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले बताए ।

सरकारले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति दिएको छ । ‘एग्रिमेन्ट अन्डर द युनाइटेड नेसन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेसनल जुरिसडिक्सन’लाई अनुमोदनका निम्ति संसद्‌मा पेस गर्न स्वीकृति दिने निर्णय पनि गरिएको छ ।

सरकारले राष्ट्रिय सदाचार नीति, २०८३ स्वीकृत गरेको छ । साथै, राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गरिएको छ । न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया