Online Bichar
बिहिबार, आषाढ १८, २०८३ | Thursday, July 2, 2026

काठमाडौं, १८ असार २०८३ । सरकारद्वारा घोषित बिनाधितो सहुलियत ‘स्टार्टअप (नवप्रवर्तन) उद्यम कर्जा प्रवाह कार्यक्रम, २०८२’ अन्तर्गत परेका आवेदन ‘स्क्रिनिङ’मा ९६६ आयोजना छनोट गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको मूल्यांकन समितिले आवेदनबाट योग्य स्टार्टअप उद्यम छनोट गरेको हो ।

गएको कात्तिक १९ गते स्टार्टअप उद्यम कर्जाका निम्ति आह्वान गरिएको थियो । त्यसमा १० हजार २४४ आवेदन परेको थियो । उक्त आवेदकको परियोजना प्रस्तावमध्ये आठ हजार २०३ विद्युतीय माध्यमबाट र दुई हजार ४१ भौतिक रूपमा दर्ता गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानको मूल्यांकन समितिले कर्जाका निम्ति प्रारम्भिक सूचीमा एक हजार २९८ परियोजना प्रस्तावक छनोट गर्‍यो । त्यसमध्ये प्रस्तुतीकरणमा एक हजार १५६ वटाको मूल्यांकनबाट उक्त सूची छनोट गरिएको हो । प्रस्तावकको प्रस्तुतीकरण विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा सञ्चालन गरिएको थियो ।

न्यूनतम ५० प्रतिशत अंक प्राप्त गर्ने प्रस्तावकलाई प्राथमिकताका आधारमा अन्तिम छनोट गरिएको प्रतिष्ठानका निवर्तमान कार्यकारी निर्देशक उमेशकुमार गुप्ताले बताए ।

उनका अनुसार, स्थानीय तहमा रहेका उद्यम विकास सहजकर्ताले फिल्डमै पुगी आवेदनको सत्यतथ्य जाँच गरेका थिए । १० हजारभन्दा बढी आवेदन परेकाले सबैलाई एक/एक गरी हेर्नुपर्दा प्रक्रियामा केही समय लाग्यो ।

“छनोट प्रक्रिया कार्यविधिमा व्यवस्था भएबमोजिम पारदर्शी रूपमा गरिएको हो । समितिले औसत निकाली ५० प्रतिशतभन्दा बढी अंक ल्याउनेहरूलाई योग्यताक्रमका आधारमा सिफारिस गरिएको हो,” उनले भने ।

अन्तिम छनोटमा परेका उद्यमीले अब दुई दिनभित्र तोकिएको बैंकमा सम्पर्क गरिसक्नुपर्नेछ । असार मसान्त नजिकिँदै गरेको र यो वार्षिक कार्यक्रम भएकाले समयमै प्रक्रिया अगाडि बढाउन राष्ट्रिय वाणिज्य बैंकको नजिकको शाखा कार्यालयसँग सम्पर्क गर्नुपर्छ । तिनले सम्पर्क गरेपछि बैंकले कर्जा प्रवाह प्रक्रिया अगाडि बढाउने उनले बताए ।

प्रतिष्ठानमार्फत प्रदान गर्न लागिएको स्टार्टअप उद्यम शीर्षकको सहुलियत कर्जा तेस्रो चरणको हो । नवीन ज्ञान, सोच, सीप र क्षमता भएका युवालाई उद्यममा प्रोत्साहन गर्न सरकारले चालु आर्थिक वर्षमा ८६ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।

प्रतिष्ठानले पहिलो चरणमा आर्थिक वर्ष २०८०/८१ मा १६५ जनालाई पाँच लाख रुपैयाँका दरले यस्तो सहुलियत कर्जा प्रदान गरेको थियो । २०८२/८३ मा ५०० भन्दा बढी उद्यमीलाई स्टार्टअप कर्जा प्रदान गरिएको थियो ।

हाल छनोटमा परेका स्टार्टअप उद्यमीले पाँच वर्षका निम्ति बिनाधितो पाँच लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्नेछन् । स्टार्टअप कर्जाको रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रवाह गरिनेछ । यस्तो कर्जा सरकारले बिनाधितो ३ प्रतिशत सहुलियत ब्याजमा उपलब्ध गराउन लागेको हो ।

प्रतिष्ठानले यो रकम राष्ट्रिय वाणिज्य बैंकलाई दिन्छ । बैंकले आफ्नो खातामा राखेर कर्जा प्रवाह गर्छ । बैंकले नै लगानी गर्ने, किस्ता उठाउने तथा स्थलगत निरीक्षण (अनुगमन) को कार्य गर्छ ।

छनोटमा काठमाडौंबाट मात्र १४० स्टार्टअप उद्यमी
प्रतिष्ठानले सार्वजनिक गरेको यो सूचीमा परियोजनाको दर्ता नम्बर, नाम र ठेगाना समावेश छ । सूचीको पहिलो नम्बरमा आत्मनिर्भर बागवानी तथा पशुपक्षी फर्म (रुकुम पश्चिम) छ ।

२५औँ नम्बरमा दीर्घायु होटेल एन्ड लज (झापा) लाई सिफारिस गरिएको छ । ५००औँ नम्बरमा अभिषा कृषि तथा पशुपालन फर्म (सिन्धुली) छ । सूचीको अन्तिम अर्थात् ९६६औँ नम्बरमा युनिक कृषि तथा पशुपक्षी पालन फर्म (काभ्रेपलाञ्चोक) छ ।

कर्जाका निम्ति अन्तिम रूपमा सिफारिस गरिएका मध्ये काठमाडौंबाट १४० स्टार्टअपलाई छनोट गरिएको छ । यी स्टार्टअपहरू काठमाडौं महानगरपालिकाका साथै अरू पालिकाका पनि छन् ।

यसरी लिन सक्छन् कर्जा
स्टार्टअप उद्यमीको विवरण र कर्जा रकम राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा पठाइसकेको प्रतिष्ठानले जनाएको छ । छनोटमा परेका उद्यमीले अब प्रतिष्ठानको वेबसाइटमा तोकिएबमोजिम बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

बैंकमा सम्पर्क गर्दा उद्यमीले आवश्यक कागजात लैजानुपर्नेछ । व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, पान तथा भ्याट दर्ताको सक्कल प्रमाणपत्र, उद्यमीको नागरिकताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०८१/८२ को कर चुक्ता प्रमाणपत्र, आधिकारिक व्यक्तिको तीन प्रति पासपोर्ट साइजको फोटो र व्यवसायको छाप तथा परियोजना लिज वा भाडामा भए सम्झौताको प्रतिलिपि पेस गर्नुपर्ने प्रतिष्ठानले जनाएको छ ।

अरू कुनै निकायबाट सहुलियतपूर्ण ऋण लिई हालसम्म चुक्ता नगरेका प्रस्तावकलाई यो कर्जा उपलब्ध गराइने छैन । साथै, तोकिएको समयभित्र साँवा र ब्याज भुक्तानी नगरेमा कार्यविधिबमोजिम कर्जा असुलउपर गरिने प्रतिष्ठानले जनाएको छ ।बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया