काठमाडौं, १३ असार २०८३ । देशमा मनसुन प्रवेश गरिसके पनि सबै भूभागमा पुगेको छैन । कोसी, मधेस, वाग्मतीका सम्पूर्ण, गण्डकीका केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागका थोरै स्थानसम्म मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन प्रवेश गरिसकेको भूभागमा पनि सक्रिय अवस्थामा छैन । देशमा कमजोर रहेको मनसुन शनिबार (असार १३) साँझदेखि कोसी प्रदेश र केही पश्चिमी भूभागमा समेत बिस्तारै सक्रिय हुने सम्भावना बढेको जलवायुविज्ञ धर्मराज उप्रेतीले उल्लेख गरेका छन् ।
“असार १४ देखि १७ गतेसम्ममा थप सक्रिय हुँदै (मनसुन) पश्चिम नेपालमा पुग्नेजस्तो देखिन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “असार १६ गतेदेखि १८ गतेसम्म थप सक्रिय हुने र मध्यमदेखि केही ठाउँमा भारी वर्षाको सम्भावनाले रोपाइँको वातावरण बनाउनेजस्तो पनि देखिन्छ ।”
पश्चिमी तराईका जिल्लामा अझै दुई दिन गर्मीको सम्भावना रहेको उनले बताएका छन् । “देशका सबै भागमा केही दिनदेखिको गर्मीमा पनि भोलिदेखि हल्का राहत मिल्ने सम्भावना पनि छ,” उनले भनेका छन् ।
आउँदो सोमबार रातिदेखि बुधबार( असार १५–१७) सम्म भने बाँके, कञ्चनपुरसम्म बादल–वर्षाको सम्भावना रहेको उनले जनाएका छन् ।
“एल निनोको प्रभाव पनि सक्रिय हुँदै गरेकोले अन्य वर्षको जस्तो वर्षा हुने सम्भावना कम नै छ,” उनले भनेका छन् ।
पर्यावरण एवं मौसमविद् उज्ज्वल उपाध्यायले पनि अब वर्षाको सम्भावना बढ्ने र देशभरि पानी पर्ने उल्लेख गरेका छन् । “मंगलबार पूर्वमा मेचीदेखि पश्चिममा नरायणी नदीबीचका तराई क्षेत्रमा वर्षा हुने हुँदा धान रोपाइँको तयारी गर्नुभए हुन्छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन्, “बुधबार देशैभरि वर्षा हुने हुँदा काठमाडौं उपत्यकालगायत अन्य क्षेत्रमा पनि रोपाइँको तर्खर गर्नुभए हुन्छ । पश्चिम र सुदूरपश्चिममा बिहीबार वर्षा हुने देखिन्छ ।”
हाल मुलुकको पूर्वी भूभागका केहीबाहेकका क्षेत्रमा खडेरी परेको उनले जनाएका छन् । “सुरुआती मनसुन कमजोर हुने भन्ने अनुमान थियो, तर काठमाडौंमै हप्ता दिनदेखि वर्षा नहुनु भनेको कमजोर मात्रै हैन, मनसुन निरीह हुनु हो,” उनले भनेका छन् ।
शनिबार र आइतबार (असार १४) पनि काठमाडौं उपत्यकामा वर्षाको सम्भावना कम रहेको उनले औँल्याएका छन् । बरु, यी दुई दिन पूर्वी नेपालमा ‘राम्रो’ वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।
“आशा गरौँ, मनसुनको अर्को सत्र (असार २२–२९) को बेला अलि ठूलो वर्षा मुलुकैभरि होला,” उनले भनेका छन्, “आउँदो शुक्रबारलाई रोपाइँ राख्नुभए अति उत्तम ।” यस वर्ष यही असार ५ गते कोसी प्रदेशमा मनसुन प्रवेश गरेको थियो ।






