झापा, ११ असार २०८३ । झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक बिहीबार साँझ टिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
रामचोकबाट भद्रपुरतर्फ जाँदै गरेको मे १ क ६४३ नम्बरको मिक्स गिट्टी लोड भएको टिफरले पैदलयात्री बिर्तामोड–३ निवासी किशोर चापागाईंकी करिब १० वर्षीया छोरी अनुकृति चापागाईंलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो। तर, चिकित्सकले साँझ ७:२५ बजे उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय अनारमनी तथा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। ट्रिफर चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्। घटनास्थलमा करिब ४०० जना र प्रहरी चौकी बिर्ताबजार अगाडि करिब १५० जना स्थानीय भेला भई विरोध प्रदर्शन तथा घेराउ गरेका छन्।
प्रहरीले अवस्था सामान्य बनाउन तथा थप अनुसन्धान अघि बढाउन सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ।






