Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

धनकुटा, ४ असार २०८३ । धनकुटामा भारतीय नम्बरको सवारीमा नेपाली नम्बर राखेर चलाउने एक व्यक्ति पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कोशी लोकमार्गमा भारतीय नम्बर प्लेटको गाडीमा अवैध रुपमा नेपाली नम्बर प्लेट राखेर सञ्चालन गरेको अवस्थामा भारत बिहार राज्य जोगबनी थाना अमोना पञ्चायत–२१ मिरगञ्ज बस्ने २२ वर्षीय नन्दुकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरानतर्फ जाँदै गरेका सवारी साधनहरु चेकजाँच गर्ने क्रममा उक्त गाडी नियन्त्रणमा लिएको धनकुटा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

चेकजाँचका क्रममा चौधरीले चलाएको सेतो रङको कारको वास्तविक भारतीय नम्बर प्लेट बिआर एजी ६७०२ रहेको खुलेको प्रहरीले जनाएको छ । तर, चालक चौधरीले सो नम्बर प्लेटको माथि नेपाली नम्बर प्लेट प्रदेश १–०१–००१ च ९२९४ राखी सवारी सञ्चालन गरिरहेको पाइएको प्रहरी नायब उपरिक्षक भण्डारी क्षेत्रीले जानकारी दिए ।

प्रहरीले चालक तथा सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा पठाइएको जनाएको छ । घटना यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही प्रक्रियामा रहेको प्रहरीले जनाएको छ ।अनलाइनखबरबाट

 

 

तपाईको प्रतिक्रिया