Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, ४ असार २०८३ । शिक्षा मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको जानकारी दिए ।

प्रारूप कार्यान्वयनमा आएपछि परिवर्तित सन्दर्भअनुरूप विद्यालय शिक्षामा सुधार हुनेमा सरकार विश्वस्त रहेको उनले बताए ।

मन्त्री पोखरेलले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयहरू भौगोलिक दूरी र अन्य विभिन्न आधारमा गाभ्ने वा तह घटाउने जस्ता विषय आगामी आर्थिक वर्षका लागि प्रस्तावित विद्यालय नक्सांकन, पुनर्संरचनालगायत विषयमा आवश्यक कदम चालिने उल्लेख उनको भनाइ छ ।

न्यून विद्यार्थी भएकै आधारमा विद्यालय गाभेर एकजना विद्यार्थीको मात्र पनि शिक्षा पाउने अधिकार सरकारले कुण्ठित नगर्ने उनले स्पष्ट पारे ।

मन्त्री पोखरेलले आगामी वर्ष सबै सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधारलगायत सम्पूर्ण पक्षमा विस्तृत सर्वेक्षण गरी प्रतिवेदन तयार पारिने र सो प्रतिवेदनको आधारमा विद्यालयको भौतिक पूर्वाधार विकासलगायत कार्यमा बजेट व्यवस्थापन गर्दै लगिने जानकारी दिए ।

विद्यालय शिक्षासम्बन्धी नयाँ ऐन तथा नियमावलीमार्फत शिक्षक विद्यार्थी अनुपातको मापदण्ड तय गरिने समेत उनले जानकारी दिए ।

मन्त्री पोखरेलले विगतमा आवश्यकता अनुसार शिक्षक तथा कर्मचारीको दरबन्दी व्यवस्थापन नगरी काम चलाउ र तत्कालको समस्या समाधानका लागि मात्रै निर्णय हुने गरेकाले अहिले समस्या देखिएको बताए ।

मन्त्री पोखरेलले एसियाली खेलमा स्वर्ण पदक प्राप्त खेलाडीहरूलाई नेपाल सरकारबाट मासिक रूपमा आजीवन भत्ताको व्यवस्था गरिएको समेत जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया