Online Bichar
सोमबार, आषाढ ०१, २०८३ | Monday, June 15, 2026

काठमाडौं, १ असार २०८३ । सेफ सन्तोष साहलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार (असार १) काठमाडौं जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

ठगी तथा बैंकिङ कसुरको आरोपमा सन्तोष र उनका सहोदर दाइ नारायण साह सुडीलाई शुक्रबार (जेठ २९) राति प्रहरीले पक्राउ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

सोमबार उनीहरूलाई अदालतमा पेस गरिएको हो । दुवैजनालाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

गैरीधाराको एक रेस्टुरेन्ट खरिद गर्दा सहमतिबमोजिमको रकम नतिरी ठगी गरेको भन्दै पूर्वसञ्चालक सकुन्तला थापाले प्रहरीमा उजुरी दिएकी थिइन् । त्यसपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपश्चात् उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूले ‘मिथिला थाली’ नामबाट रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए । मिथिला थालीका थप दुई सञ्चालकविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतले जनाएको छ ।

सन्तोषका अर्का सहोदर दाइ दिलीपकुमार साह र रामहित साहविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया