काठमाडौं, २९ जेठ २०८३ । नेकपा (एमाले) का सांसद गुरु बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विगतका सबै घटना छानबिनका लागि प्रतिपक्ष तयार रहेको जवाफ दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले बिहीबार अर्थमन्त्रीले करका दर हेरफेरबारे दिएको चुनौतीको जवाफ दिएका हुन् । “विगतका सबै घटनालाई दूधको दूध पानीको पानी गरेर छुट्टयाउनको लागि प्रतिपक्ष हाजिर छ । त्यसले सत्यलाई प्रमाणित गर्न सक्छ, कमजोरी भए सच्याउँन चाहन्छौँ,” उनले भने ।
उनले अर्थमन्त्री उम्किन नसक्ने बताए । संसदीय छानबिन समिति गठन गरेर निरुपण गर्न माग गरे । “अन्यथा यस खालका चलन चलिरहनेछन् । गलत चिजको नजिर बसिरहनेछ । यो प्रवृत्तिको सधैँका लागि अन्त्य गर्न पनि छानबिन समिति जरुरी छ,” उनले भने ।
अर्थमन्त्री वाग्लेले सदनमा जवाफ दिँदै आफूतिर औँला ठड्याउने सांसदहरूलाई विगतका काण्ड खोल्ने धम्की दिएका थिए ।
“तपाईंहरूका काण्डबारे अनविज्ञ हो र ? ती पनि खुल्नेछन्,” वाग्लेले भनेका थिए ।






