Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

काठमाडौं, २५ जेठ २०८३ । इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा पठाइने नेपाली सहायक कामदार (केयरगिभर) का लागि पासपोर्टको म्याद कम्तीमा १ वर्ष भएकाले आवेदन दिन पाउने भएका छन् । आवेदन दिने प्रयोजनका लागि मात्रै वैदेशिक रोजगार विभागले पासपोर्टको म्याद न्यूनमत एक वर्षको हुनुपर्ने जनाएको हो ।

तर, पछि छनोटमा परेर इजरायल जानुपर्ने भएमा भने कम्तीमा ३ वर्षको म्याद हुनुपर्ने विभागले जनाएको छ । विभागका प्रवक्ता बिन्दा आचार्यले आवेदन दिनका लागि मात्रै पासपोर्टको म्याद कम्तीमा एक वर्षको हुनुपर्ने बताइन ।

‘आवेदन दिनका लागि पासपोर्टको म्याद कम्तिमा १ वर्षको हुनुपर्छ, त्योभन्दा कम भएर हुँदैन । बढीमा जति भए पनि भयो,’ प्रवक्ता आचार्यले भनिन् । तर, आवेदनपछि छनोटमा परेर इजरायल जानेको हकमा भने पासपोर्टको म्याद कम्तिमा ३ वर्षको हुनुपर्ने आचार्यको भनाइ छ ।

विभागले २ हजार ३ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको छ । आवेदन दिने म्याद आगामी असार ७ गते राति १२ बजेसम्म रहेको छ । विभागका अनुसार शुक्रबारसम्म आवेदन दिनेहरूको संख्या १४ हजार नाघेको छ ।

सरकारी स्तरबाट वैदेशिक रोजगारीमा पठाइने तलब तथा अन्य सेवा सुविधाका हिसावले राम्रो मानिएको छ । यो पटक खुलेको आवेदन अनुसार छनोट भएर जाने केयरगिभरले मासिक ३ लाख रूपैयाँ भन्दा बढी तलब पाउनेछन् ।

नक्कली प्रमाणपत्रमा कडाइ

विभागले विगतको सिकाइबाट केयरगिभरको नक्कली प्रमाणपत्र बनाउनेमाथि कडाइ गरेको छ । त्यसका लागि विभागले सीटीईभीटी तथा एनएभीटीमा दर्ता भएका तालिम प्रदायक संस्थाहरूलाई प्रारम्भदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको सूची मागेको छ ।

विगतमा तालिम नलिई प्रमाणपत्र बनाउने र त्यसपछि मात्रै तालिम लिने गरेको पाइएको थियो । कतिपयले पैसा दिएर नक्कली प्रमाणपत्र समेत बनाएको पाइएको थियो ।

त्यसलाई निरुत्साहित गर्नका लागि विभागले सुरुदेखि हालसम्म तालिम लिएका व्यक्तिहरूको सूची नै माग गरेको हो ।

आवेदन आह्वान गरेसँगै केयरगिभरको तालिम खुल्यो भनेर सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचार भइरहेका छन् । विभागले त्यस्ता खालका विज्ञापनहरूमाथि समेत निगरानी गरिरहेको जनाएको छ ।

‘युट्युबमा, टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा इजरायल जानको लागि तालिम खुल्यो भनेर प्रचार देखिरहेका छौं । त्यस्तो प्रचारप्रसार गर्नेलाई हामीले एक–एक वाच गरिरहेका छौं,’ प्रवक्ता आचार्यले भनिन् ।

आवेदन दिने म्याद सकिनुअघि तालिम लिएको तीन महिना पूरा गरेकाले मात्रै आवेदन दिन पाउने उनको भनाइ छ ।

तालिम नलिकन झुट्टा विवरण पेस गर्ने र तालिम लिँदै नलिएको वा कम लिएकोलाई लिएको भनेर प्रमाणपत्र दिने तालिम प्रदायक संस्था वा व्यक्तिलाई समेत कारबाही हुने उनले चेतावनी दिइन । त्यस्ता व्यक्ति तथा संस्थामाथि सरकारी निकायमा झुट्टा कागजात, झुट्टो विवरण पेश गरेको अभियोगमा कानून अनुसार कारबाही हुने विभागको चेतावनी छ ।

 

 

तपाईको प्रतिक्रिया