काठमाडौं, २० जेठ २०८३ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्ने बताएका छन् । नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन् ।
उनले प्रधानमन्त्री मोदीसँग एक घण्टा लामो भेटवार्ता गर्न पाउनु ठूलो खुसीको कुरा भएको जनाउँदै भेटवार्ता फलदायी भएको जनाएका छन् । “म भविष्यको लागि तपाईंको दृष्टिकोणसँग सहमत छु जहाँ नेपाल र भारतले विगतका बाधाहरू पार गर्दै विकास कूटनीतिको नयाँ युगलाई अँगाल्नेछन्,” भेटवार्तापछि सभापति लामिछानेले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
साझा सभ्यता सम्बन्ध, डिजिटल कोरिडोर र निर्बाध कनेक्टिभिटीमा ध्यान केन्द्रित गरेर नेपाल र भारतले साँच्चै प्रगति तथा पारस्परिक विश्वासद्वारा साझेदारी निर्माण गर्न सक्ने उनले बताएका छन् ।
“नेपाल र भारतका जनताको लागि, हाम्रो साझा समृद्धिको लागि यी सम्भावनाहरूलाई वास्तविकतामा रूपान्तरण गर्न रास्वपा उत्सुक छ,” सभापति लामिछानेले भनेका छन् ।






