झापा, १८ जेठ २०८३ । झापाको भद्रपुरमा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी सहायक निरीक्षक युवराज श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका–४ डाँगीबारी क्षेत्रमा चेकजाँचका क्रममा एक युवकलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा कचनकवल गाउँपालिका–४ बनियानी घर भई हाल बिर्तामोड नगरपालिका–४ मेघाबारी बस्दै आएका २३ वर्षीय हेमन्त विश्वकर्मा रहेका छन्। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका विश्वकर्माले प्रहरीलाई देख्नासाथ आफूले बोकेको पोको झाडीमा फाल्न खोजेको अवस्थामा प्रहरीले शंका लागेर जाँच गरेको थियो।
जाँचका क्रममा उनको साथबाट प्लास्टिकसहित ५ ग्राम ६६० मिलिग्राम तथा प्लास्टिकबाहेक ५ ग्राम १२० मिलिग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
लागुऔषधसहित पक्राउ परेका विश्वकर्मालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको प्रहरीले जनाएको छ।






