काठमाडौं, १८ जेठ २०८३ । बजेटपछिको पहिलो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा अडिएको हो।
सरकारले बजेटमा आर्थिक विधेयकमार्फत पूँजीगत लाभकर दुई प्रतिशत विन्दुको वृद्धि गरेपछि साना लगानीकर्ताहरू निरुत्साहित भएका छन्। आयकर ऐन २०५८ को दफा ९५ को उपदफा (२) मा संशोधन गर्दै अल्पकालीन लगानीकर्ताका लागि करको दर साढे ७ प्रतिशतबाट बढाउर १० प्रतिशत र दीर्घकालीनका लागि ५ प्रतिशतबाट बढाएर ७.५ प्रतिशत कायम गरिएको छ। जसको कारण सोमबारको बजारमा गिरावट आएको लगानीकर्ताहरूको बुझाइछ।
यसदिन ३४९ स्क्रिप्सको १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता सेयर ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँमा खरिदबिक्री भए। उच्च अंकले घटेको सेयर बजारमा दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो। नेपाल रिइन्स्योरेन्स कम्पनी र कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसदिन बुंगल हाइड्रोको सेयरका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १३.२० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ४३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
नेपाल रिइन्स्योरेन्स कम्पनीले ३७ करोडको सेयर कारोबार गर्दा हिमालयन रिइन्स्योरेन्सले २५ करोड,रिडी पावरले १७ करोड र नेसनल हाइड्रोपावरले १६ करोड मूल्य बराबरको कारोबार गरे।
कारोबारमा आएकामध्ये ३५ वटा स्टक्सको मूल्य बढ्दा २३३ वटाको घट्यो। २ स्टक्सको मूल्य भने स्थिर रह्यो। नन लाइफ इन्स्योरेन्स र अदर्श समूहको उपसूचकबाहेर अरु बाँकी समूहको उपसूचक नकारात्मक देखिए। अदर्श समूहको उपसूचक ३.३६ प्रतिशतले बढ्दा ट्रेडिङ समूहको ६.१४ प्रतिशतले घट्यो।






