झापा, १८ जेठ २०८३ । झापाको शिवसताक्षी नगरपालिका–४ फूलचोकस्थित झापा इनर्जी प्लान्टमा आगलागी हुँदा करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीका अनुसार सोमबार (आज) दिउँसो करिब २ः१० बजे प्लान्टमा अचानक आगलागी भएको थियो। आगलागीबाट प्लान्टभित्र रहेका विभिन्न मेसिन तथा उपकरण जलेर नष्ट भएका छन्। यद्यपि, घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन। उक्त प्लान्टका सञ्चालक शिवसताक्षी नगरपालिका–९ दुधे निवासी ५० वर्षीय लाल प्रसाद सावा रहेका छन्।
आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक सुभास केसीको कमाण्डमा ७ जना तथा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट प्रहरी सहायक निरीक्षक बेनु बास्कोटाको कमाण्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो।
शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाको दमकल, प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगो दिउँसो २ः५० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






