Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

काठमाडौं, १७ जेठ २०८३ । थाइल्याण्डबाट पक्राउ परेकी टिकटकर तुल्सा अधिकारीलाई सोमबार अदालतमा पेश गरिने भएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले अधिकारीलाई भोलि सोमबार मात्रै अदालत उपस्थित गराइनेछ।

ठगी, आपराधिक विश्वासघात तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फरार रहेकी अधिकारीविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। थाइल्याण्डमा पक्राउ परेपछि उनलाई नेपाल प्रहरीलाई जिम्मा लगाइएको थियो। इन्टरपोलको समन्वयमा शनिबार राति उनलाई काठमाडौं ल्याइएको हो। हाल उनी ललितपुर प्रहरीको हिरासतमा छिन्।

प्रहरीका अनुसार अधिकारी चीनमा बस्दै आएकी थिइन्। उनीविरुद्ध अनुसन्धान अघि बढेपछि सामाजिक सञ्जालमार्फत प्रहरीले आफूलाई खोजी नगरेको दाबी गरेकी थिइन्। तर प्रहरीले उक्त दाबी भ्रामक रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो।

कुमार चिमोरिया नामक व्यक्तिले २०८२ साउन २२ गते प्रहरी वृत्त सातदोबाटोमा अधिकारीविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको जाहेरी दिएका थिए। अनुसन्धानका क्रममा उनी सम्पत्ति शुद्धीकरणको कसुरमा समेत जोडिएकी थिइन्।

प्रहरीले सम्पत्ति शुद्धीकरण विभागको सुझावपछि उनीविरुद्ध थप अनुसन्धान अघि बढाएको थियो। हाल अधिकारीविरुद्ध ठगी, आपराधिक विश्वासघात र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ।

प्रहरीका अनुसार उनीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ बराबरको ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको छ। अब अदालतमा पेश गरेपछि थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छाड्नेबारे आदेश दिनेछ।

तपाईको प्रतिक्रिया