Online Bichar
शुक्रबार, जेठ १५, २०८३ | Friday, May 29, 2026

काठमाडौं, १४ जेठ २०८३ । नेपालमा स्वास्थ्यकर्मीको संख्या तीन लाख ८५ हजार ३७० पुगेको छ । यो संख्या ०८२ फागुन मसान्तसम्मको भएको अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८२/८३’ मा उल्लेख छ ।

उनीहरू नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल परिषद्, नेपाल फार्मेसी परिषद्लगायत निकायमा दर्ता भएका स्वास्थ्यकर्मी हुन् । ०८१ फागुनसम्म यो संख्या तीन लाख ६६ हजार ५०५ थियो ।

०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको संख्या ५४ हजार २२३ पुगेको छ । मेडिकल काउन्सिलमा ३५ हजार १८७ मेडिकल चिकित्सक, ६ हजार ८३ दन्तचिकित्सक र १२ हजार ९५३ विशेषज्ञ चिकित्सक दर्ता भएका आर्थिक सर्वेक्षणमा जनाइएको छ । ०८१ फागुनसम्म नेपाल मेडिकल काउन्सिलमा दर्ता हुने चिकित्सकको संख्या ४९ हजार २१० थियो ।

०८२ फागुनसम्म नेपाल नर्सिङ काउन्सिलमा एक हजार ९५६ विशेषज्ञ नर्स, ८८ हजार २३२ नर्स, ३७ हजार ५९५ अनमी, १९५ मिडवाइफ र ८५६ विदेशी नर्स गरी एक लाख २८ हजार ८३४ जना दर्ता भएका छन् ।

नेपाल स्वास्थ्य व्यवसायी परिषद्‌मा कुल एक लाख ७० हजार २२६ स्वास्थ्यकर्मी दर्ता भएका छन् । नेपाल आयुर्वेद मेडिकल परिषद्‌मा ६ हजार ७५५ स्वास्थ्यकर्मी र नेपाल फार्मेसी परिषद्‌मा २५ हजार ३३२ स्वास्थ्यकर्मी दर्ता छन् ।

प्रतिहजार जनसंख्यामा चिकित्सक तथा नर्सको संख्या वृद्धि भएको छ । ०८२ फागुनसम्म नेपाल मेडिकल काउन्सिल र नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीबमोजिम देशमा प्रतिहजार जनसंख्यामा १.८६ चिकित्सक र ४.४२ नर्स छन् ।

 

तपाईको प्रतिक्रिया