झापा, १३ जेठ २०८३ । जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा मोरङ विराटनगर–६ स्थायी घर भई हाल झापाको दमक नगरपालिका–८ बस्दै आएका ३५ वर्षीय भोला भनिने भगवानलाल राय रहेका छन्।
प्रहरीका अनुसार उनलाई २०८२ भदौ १९ गते झापाको कमल गाउँपालिका–५ पाँडार्जुगीबाट ५ ग्राम १७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो। लागूऔषध सम्बन्धी कसुरमा पक्राउ परेका रायलाई झापा जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान भइरहेको थियो।
तर, २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी हिरासत कक्षबाट फरार भएका थिए।
फरार रहेका रायलाई खोजतलास गर्ने क्रममा मंगलबार राति करिब ८ः४० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका–६ पूर्व बसपार्क क्षेत्रमा फेला पारी पुनः नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






