Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

काठमाडौं, ११ जेठ २०८३ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १० हजारभन्दा कम रकम बचतकर्तालाई धमाधम रकम फिर्ता गर्दै छ ।

बचतकर्ताहरूका उजुरी, सहकारीको अवस्था र सञ्चालकहरूले गरेका बदमासीका आधारमा सरकारले २३ वटा सहकारी संस्थाहरूलाई संकटग्रस्त घोषणा गरेको थियो ।

ती २३ सहकारीमा ७६ हजार बचतकर्ताहरूको रकम अपचलन भएको छ । अपचलन रकम झन्डै ४६ अर्ब रुपैयाँ भएको संकटग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए ।

उनले ऐनले नै तोकेको प्राथमिकता क्रमअनुसार साना बचतकर्ताको रकम फिर्ता सुरु गरेको जानकारी दिए ।

उनका अनुसार, साना बचतकर्ताहरूको बचत रकम फिर्ता गर्ने ऐनको कार्यविधिअनुसार हामीले पहिलो चरणमा यही जेठ ४ गतेदेखि १० हजारसम्मका बचतकर्ताको रकम फिर्ता भइरहेको छ ।

उनले बाह्रखरीसँग भने, “हामीले पैसा भएका सहकारीका बचतकर्ताहरूलाई रकम फिर्ता गरिरहेका छौं । प्राथमिकता क्रमअनुसार बचतकर्ताहरूको खातामै पैसा जान्छ ।’’

उनका अनुसार, संकटग्रस्त सहकारीमा रहेको रकम छुट्टाछुट्टै खाता खोली कृषि विकास बैंकमा जम्मा गरिएको छ । त्यो रकमले पुग्दासम्म बचतकर्ताले त्यही रकमबाट फिर्ता पाउनेछन् ।

उनले भने, “उक्त रकम सकिएपछि मात्र नेपाल सरकारले चक्रीय कोषमा उपलब्ध गराएको रकम प्रयोग हुनेछ । ऋणका रूपमा प्रयोग हुने उक्त रकम भविष्यमा चक्रीय कोषमै जम्मा गरेर नेपाल सरकारलाई फिर्ता हुनेछ ।”

उनले नेपाल सरकारलाई रकम फिर्ता गर्न ऋणीहरूबाट असुल भएको रकम, सञ्चालक समिति, लेखा समिति, ऋण समितिका सदस्यहरूबाट असुल भएको रकम, सहकारीको अचल सम्पत्ति बिक्रीबाट प्राप्त रकम प्रयोग हुने जानकारी दिए ।

“सहकारीको सम्पत्ति प्रयोग भएपछि बिक्री वा अंशबन्डा भएको सम्पत्तिबाट पनि असुलउपर गर्ने अधिकार ऐनले हामी (समिति) लाई दिएको छ,” उनले भने ।

साना साना ऋणीहरू सम्पर्कमा आएका छन् । पहिला सम्पर्कमा आएका केही ठूला ऋणीहरू सम्पर्कविहीन भएका छन् ।

उनले भने, ‘‘हामी उहाँहरूको तीन पुस्तेसहितको विवरण सार्वजनिक गर्छौ । त्यसपछि पनि सम्पर्कमा नआए चलअचल सम्पत्तिबाट असुलउपरको निर्णयमा पुग्नेछौं ।”

समितिका अनुसार, करिब एक हजार बचतकर्ताको रकम फिर्ता भएको छ । उक्त रकम सहकारीमा रहेको रकमबाटै व्यवस्थापन भएको छ । कतिपय सहकारीहरूमा बचतकर्तालाई दिनुपर्ने भुक्तानी ठूलो भए पनि सहकारीमा पैसा नभएको अवस्था छ ।

त्यस्ता सहकारीका बचतकर्ताहरूलाई भुक्तानी दिन चक्रीय कोषमा सरकारले जम्मा गरेको रकम प्रयोग हुनेछ । तर, समितिले उक्त रकम भने चक्रीय कोषलाई नै फिर्ता गर्नुपर्ने छ ।

सरकारले २५ करोड चक्रीय कोषमा दिएको छ । त्यसमा थप २५ करोड दिने घोषणा सरकारबाट भएको छ । तर, उनी त्यो रकम कोषमा आइनसकेको बताउँछन् ।

सहकारीको रकमले पुग्दासम्म कोषको रकम प्रयोग नगर्ने नीति लिएको छ । त्यसमा ज्येष्ठ नागरिक र १२ वटा नसर्ने जटिल रोग लागेका नागरिकहरूको बचत फिर्ता प्राथमिकतामा रहने व्यवस्था कार्यविधिले गरेको छ ।

उनले भने, ‘‘त्यस्ता बचतकर्तालाई अर्को सहकारीको रकम दिन त मिल्ने कुरा भएन । त्यसैले चक्रीय कोषको प्रयोग हुन्छ र पछि उक्त रकम समितिले चक्रीय कोषलाई नै फिर्ता गर्नुपर्छ ।”

गत जेठ ४ गतेबाट १० हजार वा सोभन्दा कमका बचतकर्ताको रकम फिर्ता गर्ने क्रम सुरु भएको हो ।

अध्यक्ष आचार्यका अनुसार, बचत फिर्ता पाउनेहरू पशुपति सहकारी, कान्तिपुर सहकारी, नागरिक सहकारी, कृषि सहकारी र गोरखा सहकारीका छन् । १० हजारभन्दा कम बचत फिर्ता गर्नुपर्ने सबैभन्दा धेरै बचतकर्ता शिव–शिखरका चार हजार छन् ।

‘‘शिवशिखरको हकमा पहिलो दिन १५६, दोस्रो दिन २१६ र आज १२१ जना बचतकर्ताको रकम हामीले फिर्ता गर्‍यौं,” उनले भने, “क्रमशः बचतकर्ताको खातामा रकम पठाइँदै जानेछ ।”

चक्रीय कोषबारे सांसदमा पनि अन्योल देखियो

अध्यक्ष आचार्य चक्रीय कोषको रकम खर्चबारे सर्वसाधारणदेखि सांसदहरूमा पनि स्पष्टता नदेखिएको बताउँछन् । उनी राज्यकोषबाट जम्मा भएको रकम बाँड्न भएको भन्ने बुझाइ सच्याउन आवश्यक भएको बताउँछन् ।

“चक्रीय कोष सहकारीबाट ठगिएका बचतकर्तालाई बाँड्न होइन । तत्काल भुक्तानीमा प्रयोग भए पनि सो रकम कोषमा नै पुनः असुलउपर गर्नुपर्ने हुन्छ,” आचार्यले भने, “तत्काल लक्षित वर्गमा भुक्तानी हुने उक्त रकम सहकारीको चलअचल सम्पत्तिबाट असुल गरी कोषलाई नै फिर्ता गर्नुपर्ने हुन्छ ।”

अंशबन्डादेखि खरिद–बिक्रीका सम्पत्ति पनि जफत

सहकारीसम्बन्धी अध्यादेश र चक्रीय कोष सञ्चालन कार्यविधिले संकटग्रस्त सहकारी व्यवस्थापन समितिको अधिकार थपिदिएको छ । विगतमा र अहिले पनि परिभाषामा परिवार भन्नाले अंशबन्डा गरी बसेकाहरूलाई नमानिने व्याख्या गरेको छ ।

तर, सहकारीबाट ऋण लिएको वा बचतकर्ताको रकम अपचलनको सम्पत्ति जोडिसकेपछि भएको अंशबन्डा वा बिक्रीलाई भने छुट दिएको छैन ।

“सहकारीको सम्पत्ति प्रयोग भइसकेपछिको अंशबन्डा र खरिद–बिक्रीलाई पनि छाडिने छैन । ऐन र कार्यविधिले दिएको अधिकार प्रयोग गरी अंशबन्डा भएको र बिक्री भएको सम्पत्तिबाट पनि असुलउपर गरिनेछ,” आचार्यले भने, “यी सबै असुलउपरबाट प्राप्त रकम बचतकर्ताको भुक्तानीपछि चक्रीय कोषमा फिर्ता गरिनेछ ।”

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रममा जवाफ दिने क्रममा पनि चक्रीय कोषमा जम्मा हुने रकम बचतकर्ताको रकम फिर्ताका लागि सहजीकरण मात्र भएको भन्दै सरकारले रकम वितरण नगर्ने बताएका थिए ।

“कोषमा राखेको रकम राज्य कोषबाट दिइने होइन, त्यस्तो वितरणमा हामी विश्वास गर्दैनौं,” डा. वाग्लेले राष्ट्रियसभामा नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफका क्रममा भनेका थिए, “सहकारीकै सम्पत्ति बिक्री गरेर आएको पैसा चक्रीय कोषमा राखेर त्यसैबाट बचतकर्तामा जाने प्रक्रिया सुरु भएको हो । सरकारले त अस्थायी सहजीकरण मात्र गरेको हो ।”

समितिले २११ ठूला ऋणीको नाम सार्वजनिक

समितिले संकटग्रस्तमध्येका २१ सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गरेको छ । पहिलो चरणमा वैशाख २३ मा ९२ र दोस्रो चरणमा वैशाख २४ मा १०९ गरी २०१ जना ठूला ऋणीको नाम सार्वजनिक गरिएको हो । पहिलो चरणमा १० सहकारीका ठूला ऋणीको नाम सार्वजनिक गरिएकामा ९२ जना ऋणीहरू छन् ।

दोस्रो चरणमा समितिले ११ सहकारीका १०९ ठूला ऋणीहरूको नाम सार्वजनिक गरेको छ ।

ठूला ऋणीका नाम सार्वजनिक गरिए पनि उनीहरूले भुक्तानी गर्नुपर्ने रकम भने सूचनामा खुलाइएको छैन । गौतमश्री सहकारी संस्थाका ऋणीहरूको सूची पनि समितिले सार्वजनिक गरिसकेको छ ।

समितिले अब क्रमशः ऋणीहरूको सूची सार्वजनिक गर्ने, सम्पर्कमा नआए तीन पुस्ते विवरण सार्वजनिक गर्ने र त्यसपछि अचल सम्पत्ति बिक्रीबाट असुलउपर गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना बनाएको छ ।बाह्रखरीबाट

 

तपाईको प्रतिक्रिया