झापा, ६ जेठ २०८३। झापाको भद्रपुर नगरपालिका–३ भाङबारीस्थित फलामे पुल नजिकबाट प्रहरीले लागुऔषध (ब्राउन सुगर जस्तो देखिने पदार्थ) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी मेचिपारीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका भद्रपुर–२ का २९ वर्षीय दिपेन्द्र ठटाल र गौरीगंज–२ बस्ने ३५ वर्षीय असन राईलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरूले लगाएको जिन्स पाइन्टको खल्तीमा लुकाइछिपाइ ल्याइएको अवस्थामा लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थ प्लास्टिकसहित ६ ग्राम १४० मिलिग्राम (प्लास्टिक बाहेक ६ ग्राम ०७० मिलिग्राम) तौल रहेको बताइएको छ ।
बरामद गरिएको पदार्थसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भद्रपुरमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






