झापा, ६ जेठ २०८३ । झापाको कचनकवल गाउँपालिका–५ डाँगाबारीमा बुधबार (आज) दिउँसो आगलागी हुँदा दुई वटा घर र भान्सा पूर्ण रूपमा जलेर नष्ट भएका छन् ।
मैरदिन मियाँको टिनको छाना र प्लास्टिकले बनाइएको भान्सा घरमा दिउँसो १२:२० बजे विद्युत् तार सर्ट भई आगलागी भएको जिल्ला प्रहरीले जनाएको छ । आगलागीबाट भान्सामा रहेको अन्नपात, भाँडाकुडा, दाउरा लगायतका सामग्री जलेर करिब रु. ६ लाख बराबरको क्षति भएको छ ।
त्यसैगरी दाजु मैनुदिन मियाँको मूल घरमा समेत आगो फैलिँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, नगद, सुन–चाँदी तथा अन्य जिन्सी सामानसहित करिब रु. ११ लाख बराबरको क्षति भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयवासीको संयुक्त प्रयासमा दिउँसो १:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट कुनै मानवीय वा चौपाया क्षति नभएको प्रहरीले जनाएको छ ।






