झापा, ५ जेठ २०८३ । झापाको अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित एम्स बोर्डिङ स्कुलको पश्चिम तर्फ रहेको खुला चौरबारी क्षेत्रमा एक महिलाको मृत्यु प्रकरणमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
मृत्यु हुनेमा अर्जुनधारा–८ कुशलचोक बस्ने याम बहादुर बस्नेतकी श्रीमति २९ वर्षीया काजल बस्नेत सुवेदी रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा अर्जुनधारा–५ कञ्चनबाडी बस्ने २४ वर्षीय किरण गौतमलाई प्रहरीले सोमबार हिँजो पक्राउ गरेको छ ।
प्रहरीका अनुसार सोमबार राति करिब ९ः१५ बजे काजल र किरण अत्यधिक मदिरा सेवन गरेर बसेको अवस्थामा उनीहरूबीच विवाद भएको थियो । विवादका क्रममा किरणले धकेल्दा काजल खुला चौरबारीको बीचमा रहेको सिमाना छुट्याउन बनाइएको कन्क्रिटको प्लममा ठोक्किन पुगेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेर बेहोस भएकी उनलाई स्थानीयले उद्धार गरी उपचारका लागि स्थानीय शंकर अस्पताल पुर्याएका थिए ।
त्यसपछि थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड हुँदै प्रादेशिक मेची अस्पताल भद्रपुर लगिएकोमा मंगलबार(आज)
बिहान ४ः४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबई रहेको जनाइएको छ ।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले अभियुक्त गौतमलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । उनलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






