दाङ, ३० वैशाख २०८३ । कपिलवस्तु प्रहरीले अस्पतालको ३८ लाख बढी रकम हिनामिना गरेको आरोपमा अस्पताल र बैंकका गरी पाँच जना पदाधिकारीलाई पक्राउ गरेको छ। अन्य केहीलाई पनि पक्राउ गर्ने प्रहरीको तयारी छ।
पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयमा स्वास्थ्य शाखा प्रमुखको रूपमा कार्यरत ५५ वर्षीय चुडामणि भट्टराई, कपिलवस्तुको महाराजगञ्ज नगरपालिका – १ घर भई हाल आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाकाको मेडिकल सुपरिटेन्डेन्ट पदमा कार्यरत ३० वर्षीय डा।अमित पाण्डे, गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–५ ढाड घर भई हाल नेपाल बैंक लिमिटेड शाखा कार्यालय चन्द्रौटामा क्यासियरको रूपमा कार्यरत ३४ वर्षीय कमलप्रसाद भण्डारी, कपिलवस्तु नगरपालिका–५ घर भई अस्पतालका फार्मेसी सहायक कर्मचारी ३७ वर्षीया रूक्सना खातुन र शिवराज–३ घर भई तत्कालीन नेपाल बैंक शाखा कार्यालय चन्द्रौटाकोमा र हाल सोही बैंकको मणिग्राम शाखामा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय विक्रम केसी रहेका छन्।
सुरूमा गत वैशाख ४ गते जिल्लाको शिवराज नगरपालिका अन्तर्गन आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको तर्फबाट आर्थिक कारोबार हिनामिना भएको भन्दै अनुसन्धानको माग गर्दै उजुरी दिएको थियो। अस्पतालका मेयर अजय थापाको तर्फबाट शिवराज नगरपालिकाको चलानी नम्बर २१९४ मार्फत उजुरी दायर गरिएको थियो।
त्यसमाथि थप अनुसन्धान गर्दा प्रहरीले एक सय २९ वटा भौचरमात्रै जम्मा भएको र त्यसको पैसा भने जम्मा नगरेको फेला परेको हो।
आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाकाको मुख्य आम्दानी तथा आयस्रोतका रूपमा रहेको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्री गरे बापतको जम्मा हुने रकम जम्मा नभएको पाइएको हो।
कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहका अनुसार मिलेमतोमा आर्थिक वर्ष २०८१र०८२ को विभिन्न मितिका एक सय २९ वटा भौचर मात्रै जम्मा भएको र ती भौचरमा उल्लेख भए अनुसारको ३८ लाख १९ हजार सात सय ७० रुपैया हिनामिना भएको पाइएको हो।
नेपाल बैंकको शाखा चन्द्रौटा शाखाका कर्मचारी र अस्पतालका जिम्मेवार पदाधिकारीको मिलेमतोमा अस्पतालको लाखौं रकम हिना भएको पाइएपछि अस्पताल र बैंकका जिम्मेवार कर्मचारी पक्राउ परेका हुन्।
यो हिनामिनाको तथ्य नगरपालिकाले पछिल्लो समय गरेको अडिट ९लेखा परीक्षण० का क्रमममा उजागर भएपछि नगरपालिकाका तर्फबाट सुरूमा अस्पालको रकम हिनामिना प्रकरणबारे मेयर अजय थापाले प्रहरीमा जानकारी गराउँदै घटना अनुसन्धान गर्न आग्रह गरेका थिए।
पछिल्लो समय लेखा परीक्षणका क्रममा बैंकका एक सय २९ वटा भौचरहरू फाइलमा फेला परे पनि सो अनुरूप बैंकमा पैसा दाखिला भएको फेला परेको थिएन।
सोही व्यहोरासहित शिवराज नगरपालिका–५ का वडाध्यक्ष तथा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद बेलबासेले वैशाख २७ गते अस्पतालको रकम ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी जाहेरी प्रहरीमा दिएका थिए।
प्रहरीको अनुसन्धानबाट सरकारी अस्पतालको नक्कली भौचरहरू बनाएर संगठित रूपमा ठगी तथा आर्थिक हिनामिना गरेको खुलेको कपिलवस्तुका प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्रकुमार सिंहले बताए।
नगरपालिकाले सञ्चालन गर्दै आएको अस्पतालको लेखा परीक्षण गर्ने क्रममा भौचर मात्रै फेला परेको तर सो अनुरूप रकम भने फेला नपरेपछि अस्पतालको आर्थिक हिनामिना भएको पाइएको हो।
अस्पतालका प्रमुखसहित पाँच जनालाई सोही कसुरमा मंगलबार पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूमाथि ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतले सात दिनको म्याद दिएको डिएसपी सिंहले बताए।
यो आर्थिक हिनामिना घटनामा थप तीन जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट






