काठमाडौं, २२ वैशाख २०८३ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा चल्ने सबै प्रकारका सवारीसाधन रातिको समयमा आवागमनमा रोक लगाएको छ ।
मंगलबार (वैशाख २२) देखि अर्को सूचना नहुन्जेलसम्मका लागि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म खुर्कोटमा पूर्ण रूपमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत प्रविण कटुवालले जारी गरेको सूचनामा भनिएको छ, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनबमोजिम बीपी राजमार्गको सिन्धुली र काभ्रेपलाञ्चोक खण्डको विभिन्न स्थानमा रोशी खोलामा बाढी आई बाटो अवरुद्ध हुने गरेको अवस्थालाई मध्यनजर गरी आज वैशाख २२ गते सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच भएको टेलिफोन संवाद समेतको आधारमा जिल्ला सुरक्षा समिति सिन्धुलीको मिति २०८३/०१/२२ को बैठकबाट पूर्ण रूपमा रोक लगाउने निर्णय गरिएको छ ।”
उक्त अवधिपश्चात् पनि वर्षा, रोशीखोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने पनि उल्लेख छ । सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ ।





