रोल्पा, १७ वैशाख २०८३ । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । रुकुम पूर्वबाट जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा पूजा गर्न तीर्थयात्री बोकेर गएको जीप बिहीबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार थबाङ गाउँपालिका–१ स्थित जलजला सडकखण्डमा जीप अनियन्त्रित भई करिब ८०० मिटर तल भीरमा खसेको हो ।
दुर्घटनामा १६ जना घाइते भएका छन् भने घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै खुल्न बाँकी रहेको रोल्पाका प्रहरी निरीक्षक सुनील थापाले बताएका छन् ।






