झापा, १७ वैशाख २०८३ । झापाको कचनकवल गाउँपालिका–३ दलकी क्षेत्रमा स्कुल बस दुर्घटना हुँदा एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन्।
प्रहरी चौकी पथरियाका अनुसार बिहीबार (आज) बिहान करिब ९:२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्केको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि बस अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार करिब १८/२० जना विद्यार्थीमध्ये १२/१३ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ निवासी ५२ वर्षीय ओमप्रसाद तिमसिना घाइते भएका छन्। उनको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको भए पनि अवस्था सामान्य रहेको बताइएको छ।
घाइते विद्यार्थीहरूमा अभिषेक राजबंशी, अर्जुन राजबंशी, धर्मेन्द्र राजबंशी, खुश्बु श्रेष्ठ, करण राजबंशी, प्रतिक्षा राजबंशी, बरटिका राजबंशी, सुमन राजबंशी, श्रृजना राजबंशी, दिपेन राजवंशी लगायत रहेका छन्। अधिकांशलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
यसैबीच, दुई जना विद्यार्थीलाई अभिभावकले अन्यत्र उपचारका लागि लगेका छन्।
दुर्घटनापछि बस चालक फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारी साधन प्रहरी चौकी पथरियाको नियन्त्रणमा राखिएको छ।






