काठमाडौं, ४ वैशाख २०८३ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि तराईका अधिकांश भूभागमा तातो दिन रहने चेतावनी दिएको छ। तापक्रम क्रमशः बढ्दै गएकोले विशेष गरी मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा गर्मीको असर बढ्ने अनुमान गरिएको छ।
मौसमविद् विनु महर्जनका अनुसार ४० डिग्री सेल्सियसभन्दा माथि पुगेमा तातो लहर मानिन्छ भने हाल तापक्रम सोही आसपास पुगेकोले यसलाई “तातो दिन” का रूपमा लिइएको छ। विभागले गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
आज कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान छ। ती क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने जनाइएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ। रातिको समयमा कोसी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
शनिबार पनि कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहँदा लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा तातो दिन कायम रहने अनुमान गरिएको छ।






