काठमाडौं, ३० चैत २०८२ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी वैशाख २ गते बस्ने भएको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ ।
कार्यवाहक मुख्यसचिव दुलालले पार्टीको समसामयिक विषयमा छलफल हुने बताए ।
पार्टीकै नेता–कार्यकर्ताले कांग्रेस प्रमुख प्रतिपक्षी दल भए पनि दलकै नेता छान्न नसक्नु विडम्बना भएको बताउँदै आएका छन् ।
यस्तै, क्रियाशील सदस्यता खारेज गरेको भन्दै पार्टीभित्र नेतृत्वको चौतर्फी आलोचनासमेत हुन थालेको छ ।






