Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, १८ फागुन २०८२ । इरानसँगको युद्धका क्रममा सोमबार पर्सियन खाडी क्षेत्रमा अमेरिकी लडाकु विमानहरू दुर्घटनाग्रस्त भएका छन् । विमानका चालक दलका सदस्यहरू भने जीवितै रहेका कुवेत सरकारले जनाएको छ ।

कुवेतको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै धेरै अमेरिकी विमानहरू दुर्घटनाग्रस्त भएको र चालक दलका सदस्यहरूको अवस्था स्थिर रहेको जनाएको छ । मन्त्रालयले दुर्घटनाको कारण पत्ता लगाउन अमेरिकासँगको समन्वयमा अनुसन्धानमा गरिरहेको जनाएको छ ।

अमेरिकी केन्द्रीय कमान्डले इरानविरुद्धको अमेरिकी अभियान ‘अपरेशन एपिक फ्युरी’को समर्थनमा उडान गरिरहेका आफ्ना तीनवटा एफ–१५ जेट विमानहरू खसेको जनाएको छ । सीएनएनले जनाएअनुसार गोलाबारीको घटनाका कारण कुवेतमा ती विमानहरू खसेका जनाइएको छ ।

विज्ञप्तिअनुसार, ती विमानमा रहेका सबै ६ जना चालक दलका सदस्यहरू सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन् र उनीहरूको उद्धार गरिसकिएको छ ।

बीबीसीद्वारा प्रमाणित गरिएको फुटेजले कुवेत सिटीनजिकै एउटा लडाकु विमान खसेको देखाएको छ ।

इरानसँगको युद्धमा अमेरिकाले आइतबार पहिलो मानवीय क्षति बेहोरेको थियो । अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानविरुद्धको अभियानका क्रममा तीन सैनिक मारिएका थिए भने अन्य पाँचजना गम्भीर घाइते भएका थिए । यसबारे थप विवरण भने दिइएको छैन ।

सोमबार कति संख्यामा विमानहरू दुर्घटना भए र ती घटनाहरूको कारण के थियो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । सन् २००३ को इराक आक्रमणयता अमेरिकाले एकैपटक धेरै विमानहरू गुमाएको यो पहिलोपटक हो ।

इरानको तासनिम समाचार एजेन्सीले सोमबार बिहानै इरानी हवाई प्रतिरक्षा प्रणालीले कुवेतमाथि उडिरहेको र इरानमाथि आक्रमण गर्ने उद्देश्य बोकेको एउटा अमेरिकी एफ–१५ लडाकु विमानलाई खसालिदिएको रिपोर्ट गरेको थियो ।

 

तपाईको प्रतिक्रिया