काठ्माडौं, १७ फागुन २०८२ । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीईको हत्याको विरोधमा आइतबार पाकिस्तानी सहर कराँचीमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारी कराँचीस्थित अमेरिकी वाणिज्य दूतावासमा प्रवेश गर्न खोज्दा प्रहरीसँग भएको झडपपछि सहरको सिभिल अस्पतालमा नौ शव ल्याइएको अलजजिराले जनाएको छ ।
प्रहरी अधिकारीले मृत्युको कारण वा पीडितको संख्या आधिकारिक रूपमा पुष्टि गरेका छैनन् । प्रदर्शनकारी तितरबितर हुनुअघि वाणिज्य दूतावास परिसरको बाहिरी परिधिसम्म मात्र पुग्न सफल भएका अधिकारीहरूले जनाएका छन् ।
प्रदर्शनकारीले कराँचीस्थित अमेरिकी कूटनीतिक नियोगमा आगजनी गरेको र झ्यालका सिसा फुटाएको अलजजिराद्वारा प्रमाणित भिडियोमा देखिएको छ ।
भवनहरूमा क्षति
इरानसँग ऐक्यबद्धता जनाउँदै प्रदर्शनकारीले पाकिस्तानको उत्तरी गिल्गित–बाल्टिस्तान क्षेत्रको प्रमुख सहर स्कार्दुस्थित संयुक्त राष्ट्रसंघसँग आबद्ध क्षेत्रीय कार्यालयलगायत धेरै भवनमा तोडफोड गरेका छन् । यसक्रममा भौतिक संरचनामा मात्र क्षति पुगेको प्रारम्भिक रिपोर्ट छ ।
भारत प्रशासित कश्मीरमा प्रदर्शन
इरानका सर्वोच्च नेता खामेनीईको हत्याको विरोधमा भारत प्रशासित कश्मीरमा सयौँ शिया मुस्लिम सडक प्रदर्शनमा उत्रिएका छन् । रातो, कालो र पहेँलो झन्डा बोकेका प्रदर्शनकारी श्रीनगरको मुटुमा रहेको मुख्य चोकमा भेला भएका थिए ।
भावनात्मक रूपमा आक्रोशित तर धेरै हदसम्म भेला शान्तिपूर्ण थियो । उक्त भेलामा धेरैले इजरायल र अमेरिकाविरोधी नारा लगाएका थिए ।
“आज हाम्रो मन धेरै भारी छ । हामी हाम्रा प्रिय नेताको शोक मनाइरहेका छौँ, जो सहिद हुनुभयो,” ४० वर्षीय सैयद तौफिकले एएफपी समाचार एजेन्सीलाई भने, “हामी सबैको ट्रम्पका निम्ति एउटा सन्देश छ । हामी सधैँ तपाईंको दमनको विरुद्धमा उभिनेछौँ । यदि, तपाईंलाई लाग्छ कि तपाईंले हाम्रा प्रिय नेताको हत्या गर्नुभयो भने तपाईं भ्रममा हुनुहुन्छ । हामी खामेनीईका छोराहरू जीवित रहुन्जेल तपाईंले दमन गर्न सक्नु हुन्न ।”
कश्मीरका अरू स्थान र शिया मुस्लिमको उल्लेख्य उपस्थिति रहेका भारतका विभिन्न भूभागमा पनि यस्तै प्रदर्शन गरिएको छ ।






