Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, १६ फागुन २०८२ । इरानको राजधानी तेहरान र अन्य विभिन्न सहरहरूमा थुप्रै विष्फोटका आवाजहरू सुनिएको बीबीसीले जनाएको छ ।

तेहरानमा रहेको इरानका सर्वोच्च नेताको कार्यालय र राष्ट्रपति कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।

सैन्य संरचनाहरूमा केर्मनशाह, कोम, इस्फहान, ताब्रिज, काराजका सैन्य क्षेत्रहरूका साथै देशको दक्षिणमा रहेको कोनारकस्थित इरानी नौसैनिक सुविधाहरूमा पनि आक्रमण गरिएको छ ।

कुर्दिस क्षेत्रको सानो सहर काम्यारानबाट प्राप्त एक भिडियोमा इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सको आधार शिविरमा बमबारी भइरहेको देखिएको छ ।
इजरायली रक्षा बलले आक्रमण गर्नुअघि नै इरानी सर्वसाधारणलाई सैन्य क्षेत्र र सुविधाहरू नजिकका स्थानहरू खाली गर्न चेतावनी दिएको थियो ।

तेहरानबाट प्राप्त केही तस्बिरहरूले पूर्वराष्ट्रपति महमूद अहमदिनेजाद बस्ने निवासमा पनि प्रहार भएको देखाएका छन् । पूर्वराष्ट्रपति घाइते भए वा नभएको बारे अझै प्रष्ट भएको छैन ।

इरानी गृह मन्त्रालयले सुरक्षा बलहरू तयारी अवस्थामा रहेको र देशभरका धेरै अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया