काठमाडौं, २९ माघ २०८२ । गाजामा ‘भ्याकुम बम’ खसालेको इजरायलमाथि आरोप लगाइएको छ । अलजजजिराको ‘द रेस्ट अफ द स्टोरी’ नामक खोज रिपोर्टअनुसार, यो बमले पहिले हावामा इन्धनजस्तो बादल फैलाउँछ र त्यसमा आगो लगाइन्छ । यसबाट ठूलो आगोको गोला बन्छ र वरपरको हावा तानिएर एक प्रकारको शून्य (भ्याकुम) सिर्जना हुन्छ ।
उक्त विस्फोटबाट तापक्रम ३,५०० डिग्री सेल्सियससम्म पुग्छ । यो बममा एल्युमिनियम र म्याग्नेसियमजस्ता तत्त्व हुन्छ, जसले केही सेकेन्डमै शरीर जलाउँछ ।
सैन्यविज्ञ र प्रत्यक्षदर्शीले इजरायलले त्यहाँ ‘भ्याकुम’, ‘थर्मल’ वा ‘थर्मोब्यारिक’ बम भनिने हतियार प्रयोग गरेको बताएका छन् । रिपोर्टअनुसार, हमलामा मारिएका धेरै व्यक्तिका शव समेत फेला परेको थिएन ।
गाजाको सिभिल डिफेन्स टोलीले दुई हजार ८४२ यस्ता प्यालेस्टाइनीको रेकर्ड राखेको छ, जसको दाहसंस्कारका निम्ति कुनै अंग बाँकी रहेन । यसबाहेक तीन हजार ५०० भन्दा बढी व्यक्ति अझै बेपत्ता छन् ।
एक आमा यासमीन महानीले आफ्नो कथा सुनाइन् । सन् २०२४ अगस्ट १० मा गाजा सिटीको अल–तबिन स्कुलमा भएको हमलापछि उनी आफ्ना छोरा सादलाई खोजिरहेकी थिइन् । त्यहाँ उनले आफ्ना पति भेटिन्, तर छोराको कुनै निसान फेला परेन ।
अलजजिराको रिपोर्टअनुसार, यासमीनजस्तै हजारौँ आमाले अझै पनि अस्पताल र शवगृहमा आफ्ना सन्तान खोजिरहेका छन् । यो युद्धमा मृत्यु हुनेको संख्या ७२ हजारभन्दा बढी पुगेको छ । मानव अधिकारवादी संगठनले इजरायलमाथि युद्ध अपराधको आरोप लगाएका छन् ।
तीन प्रकारका भ्याकुम बम प्रयोग गरेको आरोप
यस्ता बममध्ये पहिलो एमके–८४ ‘ह्यामर’ हो । करिब ९०० किलोग्राम तौलको यो बमले ३,५०० डिग्रीसम्म तापक्रम उत्पन्न गर्न सक्छ । यसको दबाब र तापले शरीरलाई गम्भीर क्षति पुर्याउँछ ।
अर्को, बीएलयू–१०९ ‘बंकर बस्टर’ हो । यो बलियो संरचनामा प्रवेश गरी भित्र विस्फोट हुन्छ र बन्द स्थानमा ठूलो आगोको गोला बनाउँछ ।
यसबाहेक जीबीयू–३९ पनि प्रयोग गरिएको आरोप छ । यसलाई सटीक निसाना लगाउने ‘ग्लाइड बम’ भनिन्छ । यसका टुक्रा फेला परेको दाबी गरिएको छ ।
यी हतियारलाई एरोसोल वा भ्याकुम बम पनि भनिन्छ । रिपोर्टका अनुसार, यिनको प्रभाव यति भयानक हुन्छ कि भवनबाहिरबाट धेरै क्षति नदेखिए पनि भित्रका सबै वस्तु जलेर खरानी बन्छ ।
ह्वाइट हाउसमा नेतान्याहूसँग ट्रम्पको भेट
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूबीच बुधबार ह्वाइट हाउसमा भेट भएको थियो । यो बैठक करिब दुई घण्टासम्म बन्द कोठामा चलेको थियो ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मैले नेतान्याहूसँग स्पष्ट रूपमा भनेको छु कि अमेरिकाले इरानसँग आणविक सम्झौताबारे वार्ता जारी राख्नुपर्छ ।”
उनले बैठक निकै राम्रो भएको तर कुनै निर्णय नभएको बताएका छन् । ट्रम्पले अगाडि लेखेका छन्, “इरानसँग राम्रो सम्झौता हुनसक्छ भने त्यो राम्रो हुनेछ, भएन भने अगाडि के गर्ने भन्ने हेर्नेछौँ ।”
उनले अघिल्लोपटक इरानले सम्झौता नगरेपछि अमेरिकाले त्यसविरुद्ध सैन्य कारबाही ‘अपरेसन मिडनाइट ह्यामर’ गरेको स्मरण पनि गराए ।
ट्रम्पले नेतान्याहूसँग गाजाको अवस्था र उक्त क्षेत्रमा शान्ति प्रयासबारे पनि छलफल भएको बताएका छन् । नेतान्याहूले ट्रम्पअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग भेट गरेका थिए ।






