Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, १९ माघ २०८२ । अस्ट्रेलियामा १६ वर्षमुनिका प्रयोगकर्ताको सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुन कार्यान्वयनमा आएको छ । कानुनअनुसार स्न्यापच्याटले चार लाख १५ हजार खाता बन्द गरेको कम्पनीले सोमबार जनाएको छ । तर, कम्पनीले केही किशोरले उमेर प्रमाणीकरण प्रणाली छल्न सक्ने चेतावनी दिएको छ ।

कम्पनीले अस्ट्रेलियाली निकायलाई एप्लिकेसनमार्फत प्रयोगकर्ताको उमेर जाँच गर्न बाध्य गर्न आग्रह गरेको छ, जसलाई कम्पनीले ‘थप सुरक्षा उपाय’ भनेको छ ।

स्न्यापच्याट, मेटा, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूले नयाँ कानुनअनुसार नाबालिग प्रयोगकर्ताको खाता रोक्नुपर्छ । उक्त कानुन १० डिसेम्बर सन् २०२५ मा लागू भएको थियो ।

कम्पनीहरूले कानुन पालना नगरेमा करिब ४९ करोड ५० लाख अस्ट्रेलियन डलर जरिवाना तिर्नुपर्नेछ ।

अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले गत महिनामा प्रविधि कम्पनीहरूले चार लाख ७० हजार खाता पहिले नै ब्लक गरेको बताएको थियो ।

जनवरी अन्त्यसम्म, स्न्यापच्याटले १६ वर्षमुनिका चार लाख १५ हजार खाता बन्द गरेको जनाएको छ । कम्पनीले भनेको छ, “हामी दैनिक रूपमा अझ धेरै खाता बन्द गर्दै छौँ ।”

तर, कम्पनीले कानुनमा ‘महत्त्वपूर्ण कमजोरी’ रहेको र उमेर अनुमान प्रणालीले दुई–तीन वर्षको दायरामा मात्र सही नतिजा दिन सक्ने बताएको छ ।

यसको अर्थ, केही १६ वर्षमुनिका किशोरले सुरक्षा प्रणाली छल्न सक्छन् भने केही १६ वर्षभन्दा बढी उमेरका प्रयोगकर्ताले अनावश्यक रूपमा पहुँच गुमाउन सक्छन् ।

स्न्यापच्याटले मेटासँग मिलेर अस्ट्रेलियालाई एप्लिकेसन पसलमा उमेर जाँच अनिवार्य गर्न सुझाव दिएको छ । कम्पनीका अनुसार केन्द्रित प्रमाणीकरण प्रणालीले सुरक्षा थप मजबुत बनाउनेछ ।

कम्पनीले पूर्ण प्रतिबन्ध उपयुक्त उपाय नभएको र आफ्नो प्लेटफर्मलाई सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा राख्नु आवश्यक नभएको बताएको छ ।

स्न्यापच्याटले भनेको छ, “हाम्रो एप मुख्यतः युवा प्रयोगकर्तालाई नजिकका साथी र परिवारसँग जोडिराख्न प्रयोग हुन्छ । ती सम्बन्ध काट्दा उनीहरू सुरक्षित, खुसी वा फाइदाजनक हुनेछैनन् ।” रासस/एएफपी

तपाईको प्रतिक्रिया