Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, ५ माघ २०८२ । चिलीका राष्ट्रपति गेब्रियल बोरिकले देशका दुई क्षेत्रहरूमा संकटकाल घोषणा गरेका छन् । ती क्षेत्रका जंगलहरूमा लागेको भीषण डढेलोमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

राजधानी स्यान्टियागोबाट करिब ५०० किलोमिटर दक्षिणमा रहेका न्युब्ले र बायोबियो क्षेत्रहरू सबैभन्दा बढी प्रभावित भएका छन् । यी क्षेत्रहरूबाट ५० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

राष्ट्रपति बोरिकले मृतकको संख्या अझै बढ्न सक्ने आशंका व्यक्त गरेका छन् । सबैभन्दा खतरनाक डढेलो तटीय सहर कोन्सेप्सियोनसँग जोडिएका सुख्खा जंगलहरूमा फैलिएको छ ।

विपद् व्यवस्थापन अधिकारीहरूका अनुसार करिब २५० घरहरू पूर्ण रूपमा नष्ट भएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले सडकमा जलेका कारहरूका तस्बिरहरू सार्वजनिक गरेका छन् ।

चिलीको वन एजेन्सी ‘कोनाफ’ का अनुसार हालसम्म यी दुई क्षेत्रमा ८,५०० हेक्टर जमिन डढेलोको चपेटामा परिसकेको छ ।

तपाईको प्रतिक्रिया