काठमाडौं, २४ पुस २०८२ । अमेरिकाले भेनेजुएलाको तेल बिक्रीलाई ‘अनिश्चितकालसम्म’ नियन्त्रण र त्यसबाट प्राप्त आम्दानीको उपयोग कसरी गर्ने भन्ने निर्णय आफूले गर्ने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काराकासले वासिङटनलाई ३० देखि ५० मिलियन ब्यारेल तेल हस्तान्तरण गर्ने बताए । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको अपहरणपछि ट्रम्प प्रशासनले बिहीबार त्यहाँको अन्तरिम सरकारलाई सर्त निर्देशन गर्ने योजना पुनः पुष्टि गरेको छ ।
बुधबार ह्वाइटहाउसकी प्रेस सचिव कारोलिन लेभिटले समाचार ‘ब्रिफिङ’मा भेनेजुएलामाथि अमेरिकी आक्रमणबारे पहिलोपटक बोलेकी थिइन् । “हामी अन्तरिम अधिकारीहरूसँग नजिक समन्वयमा छौँ । उनीहरूका निर्णयहरू अमेरिकाद्वारा निर्देशन गरिनेछन्,” लेभिटले भनिन् ।
ट्रम्पले भेनेजुएलाको राज्य सञ्चालित तेल कम्पनी पीडीभीएसएमाथि नियन्त्रण कायम गर्न खोजिरहेका र प्रतिब्यारेल ५० डलरमा मूल्य घटाउन सकिने दाबी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्प प्रशासनले तेल बिक्रीबाट सुरु हुने तीनचरणीय योजना अघि बढाइरहेको बताए । उनका अनुसार, नाफा भेनेजुएलाली र अमेरिकाको हितमा वितरण गरिनेछ । त्यसपछि अमेरिकी र अरू कम्पनीलाई बजारमा पहुँच दिइनेछ ।






