काराकास, २० पुस २०८२ । अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास शनिबार शान्त र सुनसान देखिएको छ । बिहान सबेरै गरिएको सैन्य कारबाहीपछि विस्फोटको गन्ध सहरभर फैलिएको थियो । त्रसित बासिन्दा घटनाको असर बुझ्ने प्रयासमा देखिन्थे ।
राष्ट्रपति निकोलस मादुरोका केही सय समर्थक उनको रिहाइको माग गर्दै जम्मा भए पनि त्यसबाहेक सहरका अधिकांश सडक अस्वाभाविक रूपमा खाली थिए । ६० लाख जनसंख्या रहेको सहरकी ५८ वर्षीया बासिन्दा मारिया युजेनीय एस्कोबारले विस्फोटले निद्राबाट बिउँझिएको अनुभव सुनाउँदै आफू भावुक भएको बताइन् ।
स्थानीय समयानुसार बिहान करिब २ बजे दर्जनौँ विस्फोटका आवाज सुनिएको जनाइएको छ ।
सुरुमा केहीले आतसबाजी ठानेका ती आवाजले झ्यालहरू हल्लिएका थिए र सैनिक विमानहरू घरमाथि उडिरहेका देखिएको थियो । काराकासको प्रमुख सैनिक केन्द्रनजिकको कोचे क्षेत्रमा बस्ने एक बासिन्दाले विमानको आवाज अत्यन्त डरलाग्दो भएको बताए ।
सहरका विभिन्न भागबाट धुवाँको मुस्लो उठेको देखिएको थियो । वातावरण कुहिरोजस्तै धुवाँले ढाकिएको थियो ।
प्रत्यक्षदर्शीले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतिरको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।
आक्रमणपछि मादुरोलाई अमेरिकी विशेष फौजले नियन्त्रणमा लिई न्युयोर्क लगिएको खबर बाहिरिएपछि समर्थक राजधानीमा भेला भएर नाराबाजी गर्न थाले । विश्वविद्यालयका प्राध्यापक कातिया ब्रिसेञोले विदेशी सरकारले आएर राष्ट्रपति हटाउनु अस्वीकार्य भएको बताउँदै आक्रोश व्यक्त गरे ।
प्रदर्शनकारीबाहेक सहरमा सर्वसाधारणको आवतजावत निकै कम देखिन्थ्यो । कालो पोसाकधारी सुरक्षाकर्मी हतियारसहित केन्द्रीय क्षेत्रमा गस्ती गरिरहेका थिए । धेरै पसलहरू बन्द थिए । केही खुलेका पसलमा सीमित संख्यामा मात्र ग्राहकलाई प्रवेश दिइएको थियो ।
विस्फोटबाट भएको क्षति मुख्यतया सैनिक संरचनामा सीमित रहेको जनाइएको छ ।
रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले आवासीय क्षेत्रमा पनि आक्रमण गरिएको आरोप लगाएका छन् । रासस/एएफपी






