Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, १७ पुस २०८२ । स्विट्जरल्यान्डमा नयाँ वर्षको उत्सव शोकमा परिणत भएको छ । त्यहाँको प्रसिद्ध लग्जरी स्कि गन्तव्य क्रान्स मोन्टानामा बिहीबार बिहान एक बारमा अचानक ठूलो विस्फोट हुँदा १० जनाको ज्यान गएको बताइएको छ भने अन्य १० जनालाई गम्भीर चोट लागेको छ ।

अहिलेसम्म आएका अपडेटहरूमा घटनाको कारण स्पष्ट भएको छैन । विस्फोटको जानकारी पाउनासाथ प्रहरी र आपतकालीन सेवाहरू तुरुन्तै घटनास्थलमा पुगेका थिए । घाइतेहरूलाई नजिकका अस्पतालहरूमा भर्ना गरिएको छ ।

स्विट्जरल्यान्डको वालिस क्यान्टनका प्रहरी प्रवक्ता गेटन लेथियनले एजेन्सीहरूलाई विस्फोट कारण प्राप्त नभएको बताएका छन् । “धेरैजना घाइते भएका छन् र धेरैको मृत्यु भएको छ,” उनले भने । उनले यो पनि बताए कि विस्फोट मध्यराति करिब १ बजेर ३० मिनेटमा भएको थियो ।

विस्फोट भएको बार पर्यटकहरूबीच निकै लोकप्रिय थियो । त्यहाँका मानिसहरू नयाँ वर्षको उत्सव मनाइरहेका थिए । विस्फोट निकै शक्तिशाली भएको र सम्पूर्ण बारमा आगो लागेको थियो । मानिसहरूको चिच्याहट मच्चिएको थियो ।

जसमा धेरैजना फसेका र उद्धार टोलीले उनीहरूलाई बाहिर निकालेर अस्पताल पठाएको बताइएको छ । प्रहरीका अनुसार विस्फोटको बेला नयाँ वर्षको अवसरमा बारमा पार्टीहरू चलिरहेका थिए र मानिसहरूको ठूलो भीड थियो ।

घटनापछि वरपरका क्षेत्रलाई सिल गरिएको छ । मानिसहरूको आवतजावतमा रोक लगाइएको छ । घटना कसरी भयो भन्ने विस्तृत अनुसन्धान चलिरहेको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया