काठमाडौं, ४ पुस २०८२ । अमेरिकाले एकैदिन ६ जना महिलासहित ७५ जना नेपालीलाई डिपोर्ट (देश निकाला) गरेको छ । अमेरिकाले उनीहरुलाई चार्टर्ड विमानमा राखी काठमाडौं पठाएको हो ।
“अमेरिकाले डिपोर्ट गरेका ७५ जना नेपाली बिहीबार काठमाडौं आइपुग्नु भएको हो । उहाँहरुलाई चार्टर्ड विमानमा राखी अमेरिकाले काठमाडौं पठाएको हो,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका वरिष्ठ अध्यागमन अधिकृत अनुज भण्डारीले बाह्रखरीलाई जानकारी दिए ।
भण्डारीका अनुसार डोनाल्ड ट्रम्पले दोस्रोपटक अमेरिकी राष्ट्रपतिको शपथ लिएयता अमेरिकाले ४६३ जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । ट्रम्पले सन् २०२५ जनवरी २० मा राष्ट्रपतिको शपथ लिएका थिए । यसअघि गत भदौ १९ गते अमेरिकाले यसैगरी एकैदिन ठूलो संख्यामा नेपालीलाई डिपोर्ट गरेको थियो ।
उक्त चार्टर्ड विमान अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । अमेरिकाले २०८२ जेठ २५ गते पनि एकसाथ डिपोर्ट गरी पठाएका ३७ जना नेपाली काठमाडौं आइपुगेका थिए । उनीहरुलाई पनि अमेरिकाले चार्टर्ड विमानमा नेपाल पठाइएको थियो ।
अमेरिकामा बस्नका लागि कानुनी आधार स्थापित नगर्ने नेपाली नागरिकहरू डिपोर्ट गरिएको अमेरिकाले जनाउँदै आएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले डिपोर्ट भएका काठमाडौं आउनु केही दिनअघि त्यसबारे अध्यागमन विभागलाई जानकारी दिने गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि उनीहरूलाई नेपाल प्रहरीलाई बुझाउने गरिएको छ । प्रायः अवैध बाटो अमेरिका गएकाहरू डिपोर्टमा पर्ने गरेका छन् । यसैकारण उनीहरूलाई प्रहरीले आवश्यक सोधपुछ गर्ने गरेको छ ।
खासगरी उनीहरूलाई अमेरिका पठाउने (मानव तस्कर) का बारेमा उनीहरूसँग सूचना लिने काम प्रहरीले गर्छ । अवैध तरिका र बाटोबाट अमेरिका प्रवेश गरेको, गलत मनसायले अमेरिकामा बसेको र बिनाभिसा बसेको जस्ता आरोप डिपोर्ट भएकाहरूमाथि अमेरिकाले लगाएको छ ।
ट्रम्पले राष्ट्रपति निर्वाचन अभियानकै क्रममा आप्रवासीमाथि कडाइ गर्ने घोषणा गरेका थिए । निर्वाचित भएपछि राष्ट्रपतिको शपथ लिएलगत्तै उनले अवैध आप्रवासीलाई निष्कासन गर्नेसम्बन्धी एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
त्यसपछि ट्रम्प प्रशासनले निष्कासित गर्ने एक हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवासीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोबास गरेको आरोप लगाइएको थियो ।
सन् २०२४ मा अमेरिकाले ३५ जना नेपालीलाई डिपोर्ट गरेको थियो ।






