Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

काठमाडौं, २८ माघ । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वर्ल्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम आइतबार तय गरिएको थियो ।

एचआइभी संक्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गरे । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारको माहोल संगीतमय बन्यो ।

‘सानी छोरीले गीत गाउँछिन् अब’, प्रधानमन्त्री ओलीको आग्रहमा पाँच कक्षामा अध्ययनरत ११ वर्षीय सोनी विकले जुरुक्क उठेर गीत गुनगुनाइन् ।

जन्मेर कोखमा कसैको
हुर्कन्छ काखमा कसैको
भाग्यको लेखा कस्तो
भावीले के लेखिदियो

तररर…ताली बज्यो । प्रधानमन्त्री ओलीले एक कविको रचना सुनाउँदै भने, ‘मान्छेहरुले नै हो गलत काम गर्ने र गरीब बनाउने, विधिले आफ्ना सबै सन्तानलाई समान रुपले हेर्छ ।’ त्यसकारण विधिले होइन, तिमीलाई म अर्को गीत लेखिदिन्छु, त्यो गाऊ । सोनीले मुन्टो हल्लाइन् ।

‘अब अर्को गीत गाउन,’ उनको गायकी मन पराएर प्रधानमन्त्रीले फेरि आग्रह गरे ।

फेरि कहाँ आउँछ घुमेर
यो बालापनको उमेर…

गीत गाउनमा पोख्त सोनुको क्षमता असाधारण रहेको प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले कार्यालयका कर्मचारीलाई गीत रेकर्ड गर्न निर्देशन दिए । यो गीत रेकर्ड भएको जानकारी पाएपछि अर्को रेकर्डको तयारीमा रहेको गीत सोनुले प्रधानमन्त्रीका सामु गाइन् ।

यही धर्तीमा जन्मेँ यही धर्तीमा हुर्कें
तर म अटिनँ…
एक्लै छाडी काहाँ गयौ बाबा
तर मलाई लगिनौँ

प्रधानमन्त्रीलाई गीतसङ्गीत सुन्ने चाहना बढ्दै गयो । उनले बालबालिकालाई सङ्केत गर्दै भने, ‘अरू कसैले उनलाई च्यालेञ्ज गर्छ ।’ करण सुनार, हिमनाथ चन्द, रेणु थापा र लक्ष्मी रावलले ‘कान्छी हे कान्छी’ र ‘मोहनी लग्ला है’ गीत प्रस्तुत गरे ।

यतिबेलासम्म प्रधानमन्त्री निवासको सानो बैठक कक्ष सङ्गीतमय बनिसकेको थियो । उपस्थित आयोजक प्रतिनिधि, बालबालिका तथा विद्यालयका शिक्षक र संस्थापक बालबालिकालाई हौसला दिँदै ताली पड्काउन थाले ।

प्रधानमन्त्रीको हातबाट प्रमाणपत्र वितरणका लागि वर्ल्ड बुक अफ रेकर्ड नेपालले आयोजना गरेको कार्यक्रममा गीतसङ्गीतको कुनै तयारी थिएन । तर प्रधानमन्त्रीले एक्कासि कार्यक्रमलाई सङ्गीतमय पारे ।

उनले बालबालिकासामु फेरि सोधे, ‘अनि नाच्नेमा च्यालेञ्ज गर्ने कोही छ ?’ गीत सङ्गीतमा पोख्त बालबालिकामध्ये ६ जना जुरुक्क उठे । बालबालिकासँग प्रधानमन्त्री पारिवारिक रुपमा प्रस्तुत भए । एक जनाले मोबाइलबाट चर्चित गीत ‘पूर्व पश्चिम रेल’ बजाउने बित्तिकै प्रधानमन्त्रीले फेरि ठट्यौलीमा भने, ‘मैले बनाउनै बाँकी छ, तिमीहरुले आज कुदाउने भयौ ।’ उक्त गीतमा बालबालिकाले समूहमा सुन्दर नृत्य प्रस्तुत गरे ।

प्रधानमन्त्रीकै आग्रहमा स्वस्तिका भण्डारी र मनिशा विकले पनि अर्को नृत्य देखाए ।

बालबालिकाको प्रतिभालाई नजीकबाट हेरिरहेका प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्यको मन मानेन । कार्यक्रमकै बीच शाक्यले घोषणा गरिन्, यो प्रमाणपत्रसँगै परिवारका तर्फबाट रु एक लाख अवार्डकै रुपमा प्रदान गर्न चाहन्छु ।

वर्ल्ड बुक्स अफ रेकर्डको आयोजनामा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत भएको प्रमाणपत्र वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै राज्यले पनि सहयोग गर्ने बताए ।

स्वार्थबिना चुपचाप भएको कामको आज मूल्याङ्कन भएकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बिना स्वार्थ, बिना कुनै प्राप्ति, मानवीय भावनाबाट परोपकार गर्दै बिना दोष कसैलाई सजाय हुनुहुँदैन भनेर लागेको छ, जसको कुनै आकाङ्क्षा छैन, उसले पुरस्कार पाउँदा हामी खुशी छौँ ।’
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments