Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

वराहक्षेत्र, २७ माघ । प्रकृति र हरित क्रान्ति लक्षित महायज्ञलाई अर्थपूर्ण रूपमा लिइनु पर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । राष्ट्रपति भण्डारीले बढ्दो जलवायु परिवर्तनमा सार्थक परिणाम दिने आफ्नो अपेक्षा रहेको बताइन् ।

विश्वमा प्रकृति तथा पर्यावरणको चिन्ता बढिरहेको अवस्थामा श्रीराम तारकब्रह्म महायज्ञ आवश्यक भएको राष्ट्रपति भण्डारीको धारणा थियो । शनिबार वराहक्षेत्र नगरपालिकाको प्राचीन हरिद्वार चतराधाममा शुरु भएको श्रीराम तारकब्रह्म महायज्ञको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले वराहक्षेत्रको पर्यटन विकासमा विशेष चासो दिइन् ।

‘वराहक्षेत्र आफैंमा पवित्र धार्मिक क्षेत्र भएकाले नेपालकै सबैभन्दा ठूलो नदी सप्तकोशी नदी, अरुण, तमोरलगायत नदी बहने यस क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको छ ।’ राष्ट्रपति भण्डारीले भनिन् ।

वराहक्षेत्रको पर्यटन विकासका लागि प्रदेश सरकार, स्थानीय सरकार सबै मिलेर यसको समुचित प्रयोग र विकास गर्नुपर्ने राष्ट्रपतिको धारणा थियो । उनले युवा रोजगारमा समेत सबैको ध्यान जानु आवश्यक भएको बताइन् ।

‘प्रकतिको रक्षा भएमात्र जलवायु संरक्षित र सुरक्षित हुनेछ, प्रकतिसूग मनुष्यले गर्ने व्यवहार मुख्य जिम्मेवार भएकाले यसतर्फ सबैको चासो र चिन्ता हुनु पर्छ,’ राष्ट्रति भण्डारीले भनिन्, ‘मनुष्यको स्वस्थ जीवनको आधार स्वस्थ खानेकुरा भएको हुँदा पर्यावरण नै स्वच्छ नभए मानिस स्वस्थ हुँदैनन् ।’ नवनिर्मित अतिथि आवास गृहले प्राकृतिक रूपमा सम्पन्न वराहक्षेत्रको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने राष्ट्रपतिले आशा व्यक्त गरिन् ।

कौशिकी सभ्यता र संस्कृतिको उद्गम स्थल देवभूमि वराहक्षेत्रबाट विकसित भएको ज्ञानले अन्तर्रा्ष्ट्रिय चर्चा पाउनु नेपालका लागि गौरव भएको राष्ट्रपति भण्डारीले बताइन् । महायज्ञको उद्घाटन गर्न मध्याह्न करिब डेढ बजे चतराधाम आएकी उनले आमा मिथिला पाण्डेलाई भेट गरी यज्ञस्थलमा आएकी थिइन् । त्यहाँ उनलाई गाजाबाजासहित पञ्चकन्याले स्वागत गरेका थिए ।

राष्ट्रपतिले सबै भन्दा पहिले साढे आठ करोडमा निर्माण भएको एट्याच बाथरुमसहितको नव निर्मित १ सय ३६ कोठे श्रीराम निकेतन, जानकी निलयम र लक्ष्मण सदनको उद्घाटन गरेकी थिइन् । त्यसपछि नौ तले यज्ञकुटीमा भएको १०८ यज्ञ हवन कुण्डको उद्घाटन गरेकी थिइन् ।

हरित क्रान्तिको अभियान घोषणा
महायज्ञ उद्घाटनका अवसरमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा हरित क्रान्तिको अभियान शुरु भएको घोषणा गरे । घोषणाको सहमति पत्रमा प्रदेश सरकारका मुख्य सचिव केदार न्यौपाने र रामानन्दाचार्य सेवा पीठका वरिष्ठ उपाध्यक्ष गोविन्दबाबु तिवारीले हस्ताक्षर गरेका थिए ।

यस अभियानअन्तर्गत प्रदेश सररकारले विशेष बहुवर्षीय योजना बनाएर प्रदेशलाई हराभरा बनाउन हरित महाअभियानको शुरुवात गर्ने अवधारणाअनुसार अभियान शुरु गरेको हो । प्रदेशलाई हराभरा बनाएर कृषि उत्पादन बढाउनु अभियानको मुख्य लक्ष्य रहेको छ ।

हरित अभियानलाई प्रभावकारी बनाउन प्रदेश–१ सरकारले सबै क्षेत्रका विज्ञहरूलाई सहभागी गराएर विशेष योजना निर्माण गरेको छ । यो योजना अनुसार हरेक वर्ष विशेष अभियान सञ्चालन हुनेछन् ।

हरेक वर्ष कृषि, वन र वातावरणसँग सम्बन्धित महाअभियान सञ्चालन हुनेछन् । हरित महाअभियानमा बालीनाली, जडिबुटी र जैविक विविधताका लागि ‘एक किसान पचास डाले घाँस’, ‘एक किसान पाँच वनस्पती’, ‘एक घर पाँच योग, पाँच जडिबुटी’लगायतका विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

‘सबै भन्दा बेस्ट एक नम्बर प्रदेश’ को मूल नारालाई सार्थक बनाउन हरित प्रदेशको स्वावलम्बी र स्वरोजगार नेपाली बनाउन ‘श्रीराम तारकब्रम्ह महायज्ञ, र हरित महाअभियान सहयोगी हुने विश्वास लिइएको छ ।

महायज्ञ उद्घाटनको अवसरमा प्रदेश–१ का सांसद् भीम आचार्य, प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, भारतका जगद्गुरु, महामण्डेलेश्वर र पीठाधीशहरूको उपस्थिति थियो ।
ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments