काठ्माडौं, ३० असोज २०८२ । अमेरिकी राहदानी (पासपोर्ट) को स्तर यसपालि ऐतिहासिक रूपमा तल झरेको छ । हेन्ले राहदानी सूचकांकानुसार सन् २०१४ मा अमेरिकी राहदानी विश्वको सबैभन्दा शक्तिशाली थियो । यो सूचकांकको २० वर्षको इतिहासमा सन् २०२५ मा पहिलोपल्ट अमेरिकी राहदानी शीर्ष १० भित्र पर्न नसकेको हो ।
शक्तिशाली राहदानी हुनुको मापदण्डमा उक्त देशलाई सबैभन्दा बढी मुलुकमा ‘अन अराइभल भिसा’ प्राप्त हुन्छ । अर्थात्, विश्वका कतिपय मुलुकले भिसाबिना नै ती देशमा प्रवेश गर्न दिनु हो ।
यो सूचकांकमा नेपालको राहदानी भने अन्त्यतिर १०१औँ स्थानमा छ । ३६ राष्ट्रमा नेपालको भिसारहित पहुँच छ ।
यही अक्टोबर १४ मा प्रकाशित नयाँ सूचकांकानुसार अमेरिकी राहदानी जुलाईको वरीयताबाट दुई स्थान तल झरेको छ । अमेरिकी राहदानी मलेसियासँगै १२औँ स्थानमा छ । यसको अर्थ अमेरिकी नागरिकलाई २२७ गन्तव्यमध्ये १८० वटामा भिसारहित प्रवेशको सुविधा छ ।
सन् २०२५ मा सिंगापुरको राहदानी सबैभन्दा शक्तिशाली देखिएको छ । सिंगापुरको राहदानी १९३ मुलुकमा भिसारहित पहुँचसहित सबैभन्दा शक्तिशालीका रूपमा कायम छ ।
यो वर्षको सूचीमा दक्षिण कोरियाको राहदानी १९० देशमा पहुँचसहित दोस्रो स्थानमा छ । जापानको राहदानी १८९ देशमा पहुँचसहित तेस्रो स्थानमा छ ।
जर्मनी, इटाली, लक्जेमबर्ग, स्पेन र स्वीट्जरल्यान्डले चौथो स्थान साझेदारी गरेका छन् । यी देशका नागरिकलाई १८८ देशमा भिसारहित प्रवेशको सुविधा छ ।
अस्ट्रिया, बेल्जियम, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, आयरल्यान्ड र नेदरल्यान्ड्सले पाँचौँ स्थान साझेदारी गरेका छन् । यी देशका नागरिकले १८७ देशमा भिसाबिना यात्रा गर्न सक्छन् ।
हंगेरी, न्युजिल्यान्ड, नर्वे, पोर्चुगल र स्वीडेन छैटौँ स्थानमा छन् । यी देशका नागरिकलाई १८६ देशमा भिसारहित पहुँच छ ।
अस्ट्रेलिया, चेकिया, माल्टा र पोल्यान्डले सातौँ स्थान साझेदारी गरेका छन् । यी देशका नागरिकले १८५ देशमा भिसारहित यात्रा गर्न सक्छन् ।
आठौँ स्थान क्रोएसिया, इस्टोनिया, स्लोभाकिया, स्लोभेनिया, संयुक्त अरब इमिरेट्स र युनाइटेड किङडमले साझेदारी गरेका छन् । यी देशका नागरिकले १८४ देशमा भिसारहित प्रवेश पाउँछन् ।
क्यानडाको राहदानी नवौँ स्थानमा छ । क्यानडाका नागरिकले १८३ देशमा भिसारहित यात्रा गर्न सक्छन् ।
लाटभिया र लिएक्टेन्स्टाइन १०औँ स्थानमा छन् । यी देशका नागरिकले १८२ देशमा भिसारहित पहुँच पाउँछन् ।
अमेरिका मलेसियासँगै १२औँ स्थानमा छ । यी देशका नागरिकले १८० देशमा भिसारहित यात्रा गर्न पाउँछन् ।
गत वर्ष, फ्रान्स, जर्मनी, इटाली, जापान र सिंगापुर शीर्ष स्थानमा थिए । अमेरिका सातौँ स्थानमा थियो ।
यसपालि भारत ५७ देशमा भिसारहित पहुँचसहित ८५औँ स्थानमा झरेको छ । गत वर्ष भारतको राहदानी ८०औँ स्थानमा थियो ।
नेपालका छिमेकीमा पाकिस्तान ३१ देशमा भिसारहित पहुँचसहित १०३औँ स्थानमा छ । बंगलादेश १००औँ स्थानमा छ । बंगलादेशका नागरिकले ३८ देशमा भिसारहित यात्रा गर्न पाउँछन् । भुटान ५० देशमा भिसारहित पहुँचसहित ९२औँ स्थानमा छ । श्रीलंका ९८औँ स्थानमा छ । श्रीलंकाका नागरिकले ४१ गन्तव्यमा भिसारहित यात्रा अनुमति पाउँछन् ।
अफगानिस्तान २४ देशमा मात्र भिसारहित पहुँचसहित विश्वको सबैभन्दा कमजोर राहदानी हो । त्यसपछि सिरियाको राहदानीको २६ गन्तव्यमा भिसारहित पहुँच छ । इराकको राहदानीको २९ गन्तव्यमा भिसारहित पहुँच छ ।
यो वर्गीकरण सन् २००५ मा हेन्ले एन्ड पार्टनर्स भिसा प्रतिबन्ध सूचकांकका रूपमा सुरु गरिएको थियो । २०१८ जनवरीमा यसलाई हेन्ले राहदानी सूचकांकका रूपमा अद्यावधिक गरिएको थियो ।






