Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठ्माडौं, २८ असोज २०८२ । बंगलादेशको राजधानी ढाकाको मीरपुर क्षेत्रको शियालबारीस्थित एउटा केमिकल गोदाम र कपडा कारखानामा मंगलबार भीषण आगलागी हुँदा कम्तीमा नौजनाको मृत्यु भएको छ । साथै, धेरै व्यक्ति घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमका रिपोर्टअनुसार, दमकल घटनास्थलमा पुगेका थिए र लामो प्रयासपछि मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो ।

आगलागीमा परेर जलेका धेरै मानिसहरूलाई उद्धार गरी नजिकैका अस्पतालहरूमा भर्ना गरिएको छ । अधिकारीहरूका अनुसार, धेरै व्यक्ति गम्भीर रूपमा घाइते भएकाले मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना छ । हाल आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

फायर सर्भिस एन्ड सिभिल डिफेन्सका अधिकारी तल्हा बिन जसीमका अनुसार, आगलागी रूपनगर क्षेत्रमा रहेको बंगलादेश युनिभर्सिटी अफ बिजनेस एन्ड टेक्नोलोजी नजिक भएको हो । उनका अनुसार, केमिकल गोदामबाट सुरु भएको आगो विस्तार भएर कपडा कारखानासम्म पुगेको थियो ।

फायर सर्भिस एन्ड सिभिल डिफेन्सका अपरेसन निर्देशक लेफ्टिनेन्ट कर्नल मोहम्मद ताजुल इस्लाम चौधरीले मृतकका शव कपडा कारखानाको दोस्रो र तेस्रो तल्लाबाट बरामद गरिएको जानकारी दिए । उनका अनुसार, आगोबाट निस्किएको विषालु धुवाँका कारण निसास्सिएर मृत्यु भएको हुनसक्छ, तर यसबारे पूर्ण पुष्टि अनुसन्धानपछि मात्रै हुनेछ ।

यसैबीच, जलेका तीन व्यक्तिलाई ढाकाको नेसनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा भर्ना गरिएको छ । राहत तथा उद्धार कार्य अझै जारी रहेको ढाकास्थित अधिकारीहरूले जनाएका छन् ।रोयटर्स

 

तपाईको प्रतिक्रिया