Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २६ असोज २०८२ । प्यालेस्टिन कट्टरपन्थी समूह हमासले स्थानीय समयअनुसार सोमबार बन्धकहरूलाई रिहा गर्ने घोषणा गरेको छ । इजरायल र हमासबीच युद्धविरामको सहमति भएपछि हमासले आफूसँग रहेका बाँकी बन्धकलाई रिहा गर्ने घोषणा गरेको हो ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरी २५१ जनालाई बन्धक बनाई साथमा लगेको थियो । ती बन्धकमा एक नेपाली युवा पनि थिए– विपीन जोशी ।

हमासले रिहा गर्न बाँकी अब ४७ बन्धक रहेका छन्, जसमध्ये एक हुन् विपीन । रिहा गर्ने बन्धकमध्ये २० जना मात्र जीवित रहेको विश्वास गरिएको छ ।

बन्धक बनेपछि विपीनको अवस्था कस्तो छ भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन । केही दिनअघि इजरायली सेनाले प्राप्त गरेको एक भिडियो विपीनको परिवारले सार्वजनिक गरेको थियो । उक्त भिडियो बन्धक बनाइएको केही दिनभित्रै बनाइएको थियो । छोटो भिडियोमा विपीनले आफ्नो बारेमा केही बोलेका थिए ।

यो भिडियोबाहेक विपीनको बारेमा कुनै जानकारी कसैले नेपाललाई दिएको छैन । हमासले बन्धक बनाएको दुई वर्ष बित्यो, विपीन जिवित छन् वा उनी मारिए कुनै जानकारी हमासले दिएको छैन ।

यसबीचमा विपीनकी आमा र बहिनी पनि इजरायल गएका थिए । विपीनको रिहाका लागि सहयोग गर्न अनुरोध गर्दै उनी इजरायल गएका थिए । उनीहरूले इजरायलका राष्ट्रपतिलाई भेटेर विपीनको रिहाइमा सहयोग गनुरोध गरेका थिए ।

हमासले विपीनलाई बन्धक बनाएपछि नेपाल सरकारले उनलाई रिहा गर्न धेरै प्रयास गरेको थियो, तर सफल हुन सकेनन् । नेपालले इजरायलका विदेशमन्त्रीदेखि राष्ट्रपतिसम्म, कतार, इजिप्ट, इरान लगायतका देशका विदेशमन्त्रीदेखि अमिरलाई भेटी रिहाइको पहल गरिदिन अनुरोध गरेको थियो । सबैले ‘हुन्छ’ भने तर विपीन आएनन् ।

गत साता दुई वर्ष लामो युद्ध अन्त गर्दै युद्धविराम गर्न इजरायल र हमासबीच सहमति भएपछि बन्धकहरू रिहा हुने वातावरण बनेको हो । यससँगै विपीन रिहा भई नेपाल आउने आशा पलाएको छ ।

अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार, विपीन जीवित छन् वा मारिइसके भन्ने स्पष्ट छैन । इजरायल सरकारले बाँकी बन्धकमध्ये २६ जनाको मृत्यु भइसकेको घोषणा गरेको छ ।

तर, नेपाली विद्यार्थी विपीन र तामिर निम्रोडी अवस्थाबारे अझै अनिश्चितता कायमै रहेको अमेरिकी मिडिया सीएनएनले जनाएको छ । सीएनएनले सार्वजनिक गरेको रिहा हुन बाँकी जीवित र मृत्यु भइसकेका बन्धकको दुवै सूचीमा विपीनको नाम छैन ।

अमेरिकी मिडिया ‘द वाशिङ्टन पोष्ट’ले भने आफ्नो समाचारमा नेपाली युवा विपीन जीवित नै रहेको उल्लेख गरेको छ । वाशिङ्टन पोष्टले सार्वजनिक गरेको रिहा हुन बाँकी जीवित बन्धकको सूचीमा विपिन जोशीको नाम पनि उल्लेख छ । अमेरिकी मिडियाको दुईथरी रिपोर्टिङले उनका सम्बन्धमा झन् दुविधा बढाएको छ ।

इजरायलको प्रधानमन्त्री कार्यालयले भने हमासले बन्धक बनाएका विपीन जीवित रहेको प्रमाण हालसम्म प्राप्त हुन नसकेको जानकारी दिएको छ । सो जानकारी इजरायलको प्रधानमन्त्रीका सल्लाहकार जनरल गल हिर्शले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका हुन् ।

“मिडियामा विपीन जीवित रहेको र हमासले उनलाई रिहा गर्न लागेको खबर आइरहेको छ । यस सम्बन्धमा बुझ्दा इजरायलको प्रधानमन्त्रीका सल्लाहकार गल हिर्शले विपीन जीवित भएको प्रमाण हालसम्म आफूहरूलाई प्राप्त नभएको बताएका छन्,” इजरायलका लागि नेपाली राजदूत पण्डितले भने ।बाह्रखरीबाट

तपाईको प्रतिक्रिया