काठमाडौं, २५ भदौ २०८२ । प्यालेस्टिनी सशस्त्र समूह हमासले कतारको राजधानी दोहामा भएको इजरायली हवाई हमलामा आफ्ना पाँच सदस्य मारिएको बताएको छ । तर, उसले आफ्नो वार्ता टोलीको हत्या गर्ने प्रयास असफल भएको दाबी गरेको छ ।
हमासका अनुसार, उक्त वार्ता टोली गाजा पट्टीमा युद्धविरामका लागि अमेरिकाको पछिल्लो प्रस्तावमाथि छलफल गर्न दोहाको एउटा आवासीय भवनमा भेला भइरहेको बेला इजारयलले गराएको विस्फोटले उक्त भवनमा ठूलो क्षति पु¥याएको थियो ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो हमलालाई पूर्णरूपमा जायज भनेका छन् । उनले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि भएको हमलाको योजना बनाउने हमासका वरिष्ठ नेताहरूलाई निशाना बनाइएको बताएका छन् ।
कतारले इजरायली हमलाको निन्दा गर्दै यसलाई कायरतापूर्ण र अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भनेको छ । कतारका प्रधानमन्त्रीले यस हमलालाई राज्य आतंकवाद भन्दै आक्रोश व्यक्त गरे ।
खाडी राष्ट्रको आन्तरिक मामिला मन्त्रालयले आफ्ना आन्तरिक सुरक्षा बलका एक सदस्यको मृत्यु भएको र अन्य घाइते भएको बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् । ट्रम्पले कतारमा हमासका लक्ष्यहरूमा इजरायलले गरेको हमलाले इजरायल वा अमेरिकाको लक्ष्य पूरा नगर्ने बताएका छन् ।
ट्रम्पले इजरायलले राजधानी दोहामा हमासमाथि हमला गरिरहेको जानकारी अमेरिकी सेनाबाट पाएको बताए । तर, हमला रोक्न धेरै ढिलो भइसकेको उनको भनाइ थियो ।
कतार यस क्षेत्रमा अमेरिकाको एक प्रमुख सहयोगी हो, जहाँ अमेरिकाको एउटा ठूलो हवाई सैन्य अड्डा छ ।
सन् २०१२ देखि हमासको राजनीतिक ब्युरोलाई कतारले आश्रय दिँदै आएको छ । यो समूह तथा इजरायलबीचको अप्रत्यक्ष वार्तामा अमेरिका र इजिप्टसँगै मध्यस्थकर्ताको भूमिका पनि खेल्दै आएको छ ।
दोहाका प्रत्यक्षदर्शीहरूले मंगलबार दिउँसो आठवटा छुट्टाछुट्टै विस्फोट सुनेको र सहरको उत्तरी कटारा जिल्लामा धुवाँको मुस्लो देखिएको बताएका छन् ।
इजरायली सेनाले सटिक हतियार प्रयोग गरेर हमासका वरिष्ठ नेताहरूलाई निशाना बनाएर हमला गरेको बताएको छ । इजरायली सञ्चारमाध्यमहरूले यो कारबाहीमा १५ वटा इजरायली लडाकु विमान संलग्न भएको र एउटै लक्ष्यमाथि १० वटा हतियार प्रहार गरिएको जनाएका छन् ।बीबीसी






