Online Bichar
मंगलबार, बैशाख १८, २०८१ | Tuesday, April 30, 2024

एजेन्सी, २२ मघ । केही समय अगाडि मात्र एउटा अण्डाले विश्वप्रख्यात सेलिब्रेटीहरुलाई हराउँदै इन्स्टाग्रामको सबैभन्दा लाइक गरिएको तस्बिरको रेकर्ड बनाएको थियो । त्यस क्रममा विश्वभर चर्चा बटुलेको सो अकाउन्टका वास्तविक प्रयोगकर्ताबारे पनि उत्तिकै खोजी भयो । यसरी उनले सजिलै परिचय नखुलाएपछि सयौँ फेक अकाउन्ट खुले र धेरैले सो अकाउन्टको मालिक भएको दाबी गरे तर कसैले प्रमाणित गर्न सकेन ।

यस्तोमा लन्डनस्थित ‘द एण्ड पार्टनरशीप विज्ञापन क्रिएटिभ’ मा काम गर्ने २९ वर्षीय क्रिस गडफ्रे नै अकाउन्टका एक मात्र मालिक भएको खुलासा भएको हो । क्रिशका अनुसार उनले जनवरी सुरुवातमा मात्र इन्स्टाग्रामको सबैभन्दा लोकप्रिय तस्बिर काइली जेनरको रहेको थाहा पाएका थिए जसपछि उनले काइलीलाई हराउने चुनौती लिएका हुन् । उनले भनेका छन्, “त्यसबेला मैले सोचेँ, अण्डा जस्तो साधारण स्वरुप भएको युनिभर्सल वस्तुले रेकर्ड तोड्न सक्ला ?”

यसरी वास्तवमै यो सोचको ९ दिनपछि नै उनले कसैले नसोचेको काम गरि विश्वलाई चकित पारेका हुन् ।

अहिले सो अण्डाको तस्बिरमा ५२ मिलियन भन्दा बढी लाइक रहेको छ भने यता काइलीको तस्बिरमा केबल १९ मिलियन मात्र छ । साथै उनको अकाउन्टका फलोअरसमेत १० मिलियन अर्थात १ करोड पुगिसकेका छन् ।

यस्तोमा उनलाई सो रेकर्ड तोड्न किन अण्डा नै चुनेको भन्ने प्रश्न पनि गरिएको छ जसको उनले यसरी व्याख्या गरे, “किनकी एउटा अण्डाको कुनै लिङ्गा हुँदैन , कुनै जाति हुँदैन । अण्डा भनेको विश्वव्यापी रुपमै केबल अण्डा मात्र हो ।”

वास्तवमा लामो समय नाम नखुलाएका क्रिशको यस आश्चर्यजनक कथा बारे उनका साथी सी.जे ब्राउन र अलिसा खानले न्युयोर्कटाइम्ससँग खुलासा गरेका हुन् । वास्तविक पहिचान बाहिर ल्याउने उचित समय आइसकेकाले यस्तो निर्णय लिइएको उनीहरुको भनाइ छ ।

यसरी एउटा अण्डाले कसरी यति धेरै प्रचार पायो भन्नेबारे यसअघि मानिसहरुले विभिन्न अनुमान लगाइरहेका थिए । कसैले यसको निर्माताले प्रभावशाली व्यक्तित्वहरुलाई पैसा दिएर विश्वभर प्रचार गरेको दाबी गरे भने कतिपयले चाहिँ आफैँ यसको श्रेय लिन खोजे । तर क्रिशले सबै भनाइ गलत ठहर गर्दै सो अकाउन्टलाई यति ठूलो बनाउन कुनै खर्च नगरिएको र यसको लोकप्रियता बढ्नमा पनि अन्य कुनै अकाउन्टले आफूलाई सहयोग नगरेको स्पष्ट पारेका हुन् ।

उनका अनुसार यसमा विशेषगरी युवा पीढीहरुको ध्यान गएकाले नै पहिले स्कुलबाट खबर फैलन सुरु भएको र बिस्तारै ‘एग ग्याङ’ को प्रचार बढ्दै गएको हो । त्यस्तै क्रिशले इन्स्टाग्राम स्टोरीमा आफ्ना फलोअरहरुको हौसला बढाउन लगातार पोस्ट गरिरहनाले पनि सो अकाउन्ट, यति ठूलो उपलब्धि हासिल गर्न सफल भएको बताइएको छ ।

यसरी विश्वव्यापी प्रचार पाएपछि ‘एगग्याङ्’ सँग सम्पर्कमा आउनेहरुले १ करोड डलर सम्मको प्रस्ताव गरिरहेको उनीहरुले बताए । यसका साथै उनीहरुलाई सबैतिरबाट थुप्रै ठूला अवसर प्राप्त भइरहेको पनि अलिसा बताएकी हुन् । तर आफूहरु भने पैसामा भन्दा सकारात्मकताको प्रचार गर्न बढी इच्छुक रहेको क्रिश र उनका दुवै साथीहरुको भनाइ छ । त्यसैगरी विश्व प्रख्यात भइसकेपछिका पछिल्ला दिनहरुको अनुभवबारे पनि क्रिशलाई प्रश्न गरिएको हो जसबारे उनले केबल पागलपन र जीवनको एक वास्तविक यात्रा भन्ने जवाफ दिएका हुन् । उनले जोड दिँदै भने, “खासमा यो मेरो बारेमा होइन अण्डाको बारेमा हो र हामीले यसलाई कहाँसम्म लैजान सक्छौँ र यससँग के गर्न सक्छौँ भन्ने बढी महत्वपूर्ण छ ।”

तरपनि इन्टरनेटमा अचानक हुने यस प्रकारका अनौठा घटना कुनै नौलो कुरा नभएको विश्लेषकहरुको भनाइ छ । यसरी नै कुनै दिन अर्का व्यक्तिले पनि रातारता इन्टरनेटको रेकर्ड तोड्नेछन् र सबै फेरि अचम्ममा पर्नेछन् । –द न्युयोर्क टाइम्स

तपाईको प्रतिक्रिया