Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं २१ माघ । सहरी विकास मन्त्रालयले प्रधानमन्त्रीको लागि बालुवाटारस्थित हालको निवास परिसरको उपयुक्त स्थानमा नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्यको प्रक्रिया अघि बढाएको छ । बालुवाटारमा प्रधानमन्त्री हाल बसिरहेको भवन २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुर्‍याएको भन्दै नयाँ अत्यधुनिक सुविधा सम्पन्न भवन आवश्यक परेको जनाइएको छ ।

भूकम्पले क्षति पुर्‍याएको बताइए पनि प्रधानमन्त्री अहिले बालुवाटारमै बस्दै आएका छन् ।

“प्रधानमन्त्रीज्यूको हालको निवास भूकम्पले चिरिएको छ । उक्त भवन बस्न लायक छैन,” सहरी विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले भने, “त्यसैले अहिले बालुवाटारमै प्रधानमन्त्रीज्यूको निवासको लागि नयाँ अत्यधुनिक सुविधा सम्पन्न निर्माण गर्न प्रक्रिया सुरु गरेका छौं ।”

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण बालुवाटारस्थित प्रधानमन्त्री निवास चर्किएको थियो ।

गत मंसिर १७ गते बसेको मन्त्रिपरिषद बैठकले सुविधा सम्पन्न नयाँ भवन बनाउने निर्णय गरेपछि उक्त जिम्मेवारी सहरी विकास मन्त्रालयलाई दिइएको थियो ।

“अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बनाउने भनिएको नयाँ अत्यधुनिक भवनको प्राविधिक डिजाइनको काम भइरहेको छ । उक्त डिजाईन आएपछि भवन बनाउँदा कति खर्च लाग्ने भन्ने निक्र्याेल हुन्छ,” प्रवक्ता दवाडीले बताए ।

नयाँ भवन बनाउँदा अत्यधुनिक सुरक्षा उपकरणहरु जडान गरिने जनाइएको छ । त्यस्तै पार्किङको लागि भवन भित्रै व्यवस्था मिलाइनेछ । प्राविधिक डिजाइन बनाएर स्वीकृत भएपछि बजेट छुट्याइने उनले जनाए । यसैवर्ष भवन निर्माण कार्य सुरु गर्ने लक्ष्य राखिएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments